काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएका खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
जनकपुरमा बुधबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। जनकपुरमा बागमतीले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको कर्णालीले २५ ओभर १ बलमा १ सय २० रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका निश्चल रावलले ३१ र दिनेश अधिकारीले २२ रन बनाएका थिए। बागमतीका कप्तान सन्दीप लामिछानेले ७ विकेट लिए । प्रतियोगितामा बागमतीको यो दोस्रो जित हो । बागमती ५ खेलमा ४ अंकसहित तालिकाको छैठाैं स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा ३ अंकसहित नवौँ स्थानमा रहेकाे हाे ।
त्यस्तै, वीरगञ्जमा बुधबारै भएको अर्काे खेलमा लुम्बिनीले एपीएफ क्लबलाई ‘सुपर ओभर’ मा ८ रनले पराजित गरेकाे छ । ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको लुम्बिनीले १ विकेट गुमाएर १४ रन बनायो । १५ रनको लक्ष्य पछ्याएको एपीएफले १ विकेट गुमाएर ६ रनमात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ३९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २४ रन बनायो । एपीएफका अभिषेक गौतमले २८ रन बनाएका थिए । लुम्बिनीका अजय चौहानले ४ विकेट लिए ।
एपीएफले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३४ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रनमा समेटियो । लुम्बिनीका कप्तान देव खनालले ४५ रन बनाएका थिए । एपीएफका कप्तान रोहित पौडेलले ३ विकेट लिए । यो जितसँगै लुम्बिनी ५ खेलमा ५ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । एपीएफ ५ खेलमा ३ अंकसहित सातौं स्थानमा रहेकाे हाे।








प्रतिक्रिया दिनुहोस्