Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नयाँ संसदको पहिलो अधिवेशन आजदेखि शुरू हुँदै

बैठकमा मतदाता नामावली र प्रतिनिधिसभा सदस्य निर्वाचनसहित ३ अध्यादेश पेश गरि‌दै

676
Shares

काठमाडाैं । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा निर्वाचनपछि संसदको पहिलो अधिवेशन बिहीबारदेखि शुरु हुने भएकाे छ ।

सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएकाे हाे । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बिहीबारका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । संसद्को बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ । संघीय संसद अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने संघीय संसद सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्ने भएकाे हाे । राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगले यहि चैत ५ गते प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ । साेही बैठकमा तीन अध्यादेश पेश हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनुहुने भएकाे हाे । बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसांसदहरु ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे छ।