काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि संचालन हुने भएकाे छ।
राष्ट्रिय परीक्षा बोर्डले देशैभरीका सबै परीक्षा केन्द्रबाट बिहीबार बिहान ८ बजेदेखि एकै समयमा शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हाे । चैत २९ गतेसम्म संचालन हुने परीक्षामा यसवर्ष ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी हुने भएका छन् । जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना परिक्षार्थी रहेको बोर्डले जनाएको हाे ।
यसवर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुने भएका छन्। यस वर्ष जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने भएका हुन्। गत वर्ष पनि जापानमा परीक्षा केन्द्र कायम गरिएको थियो । यसवर्ष एसईई परीक्षाको नतिजा एकमहिनाभित्रै निकाल्ने सरकारको तयारी छ । जसका लागि परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय बोर्डले गरेको हाे ।
सम्बन्धित केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित भएमा मात्रै शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को व्यवस्था गर्न सक्ने बोर्डले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्