काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार भएका खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
जनकपुरमा सोमबार भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य मधेशले २४ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो । मधेशका निरज यादवले ३८, अरनिको यादवले नटआउट ३२ रन बनाएका थिए । कर्णालीका दीपेन्द्र रावतले ३ विकेट लिएका छन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ३१ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय २९ रन बनायो । कर्णालीका रविन्द्र शाहीले ४० रन बनाएका हुन् । मधेशका आशिक बैठाले ४ विकेट लिएका थिए । योसँगै मधेश ४ खेलमा ३ जीतसहित ७ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली ४ खेलमा ३ अङ्कसहित छैठौं स्थानमा छ ।
त्यस्तै, वीरगञ्जमा सोमबारै भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४० ओभर २ बलमा १ सय५६ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका सन्तोष यादवले ६७ रन बनाएका हुन्। सुदूरपश्चिमका शेर मल्ल र खडक बोहोराले ३-३ विकेट लिएकाथिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ६८ रन बनायो । सुदूरपश्चिमका दीपक बोहराले ३०, हेमन्त धामीले २९ रन बनाएका छन्। लुम्बिनीका सन्तोष यादव र अजय चौहानले ४-४ विकेट लिएका थिए । योसँगै सुदूरपश्चिम ४ खेलमा ३ जीतसहित ६ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । लुम्बिनी ४ खेलमा ३ अङ्कसहित पाँचौं स्थानमा छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाडौंको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको हो ।








प्रतिक्रिया दिनुहोस्