एजेन्सी । पश्चिम एशियामा हाल ५० हजार भन्दा बढी अमेरिकी सेना तैनाथ भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा एक महिनादेखि जारी युद्धमा अर्को कदम चाल्ने निर्णय गर्दा ५० हजार भन्दा बढी सैनिक तैनाथ भएका ‘द न्यूयोर्क टाइम्स’ ले जनाएको हो । यो सङ्ख्या सामान्य भन्दा करिब १० हजारले बढी हो । २० वर्षपछि पहिलो पटक.पश्चिम एशिया क्षेत्रमा ५० हजार भन्दा माथि अमेरिकी सैनिक तैनाथ भएका खबरमा उल्लेख छ । बीबीसी र न्यूजनेसनका रिपोर्टहरूले ३ हजार ५ सय नाविक र मरीनहरू भर्खरै ‘यूएसएस त्रिपोली’ पानीजहाजमार्फत यस क्षेत्रमा आइपुगेको उल्लेख गरेका हुन् ।
‘यूएसएस त्रिपोली’ ले मरिन सैनिक, हेलिकोप्टर र एफ–३५बी जस्ता लडाकु विमान बोक्न सक्छ । अमेरिकी सेना बहराइन, कुवेत, कतार र साउदी अरेबियाका प्रमुखसहित कम्तीमा १९ ठाउँमा तैनाथ छन् । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले खार्ग टापु सजिलै कब्जा गर्न सक्ने दावी गर्नुभएको हो । उहाँले इरानको तेल लिन खार्ग टापु कब्जा गर्न सक्ने बताउनुभयो । मध्यपूर्वमा तनाव कायमै रहँदा तेलको मूल्य फेरि बढेको छ ।
तेलको मूल्य बढेर प्रतिब्यारेल १ सय १५ अमेरिकी डलर भन्दा माथि पुगेको छ । गत फेब्रुअरी २८ तारिखअघि तेलको मूल्य प्रतिब्यारेल ७२ डलरमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि तेलको मूल्यमा उतारचढाव भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्