Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एनकेएल–२ का ६ फ्रेन्चाइज टोलीको स्वामित्व सार्वजनिक, जेठ २२ बाट प्रतियोगिता सुरु हुने


104
Shares

काठमाडाैं ।

एस्ट्राेनिक्स म्यानेजमेन्टको आयोजनामा हुने नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ मा सहभागी हुने ६ वटै फ्रेन्चाइज टोलीका मालिकहरूको नाम सार्वजनिक गरिएको छ ।

नेपाली कबड्डीलाई व्यावसायिक उचाईमा पुर्‍याउने उद्देश्यका साथ घोषणा गरिएका नयाँ मालिकहरूमा प्रतिष्ठित व्यावसायिक घरानाहरूको वर्चस्व देखिएको छ । यसपटक नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले विराटनगरको टोली खरिद गरेको छ ।

जसको नाम ‘विराटनगर ब्यान्डिट्स’ बाट परिवर्तन गरी ‘विराटनगर बाहुबली’ राखिएको छ । त्यस्तै, पहिलो संस्करणको विजेता टोली ‘जनकपुर नाइट्स’ को स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहँदा उपविजेता ‘काठमाडौं माभरिक्स’ को स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.ले लिएको छ ।

प्रतियोगितामा सहभागी अन्य टोलीहरूमध्ये ‘पोखरा लेकर्स’ को स्वामित्व फेवा कन्स्ट्रक्सन प्रा.लि.ले प्राप्त गरेको छ भने ‘बुटवल बुल्स’ को स्वामित्व मोराई कर्पोरेसन प्रा.लि.सँग रहनेछ । जुन अघिल्लो सिजनमा हिमालयन रेइडर्सको नामले परिचित थियो । सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने ‘धनगढी वाइल्डक्याट्स’ को स्वामित्व धनगढी वाइल्डक्याट्स प्रा.लि.मै कायम रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले कर्पोरेट हाउसहरूको बढ्दो सहभागिताले नेपाली कबड्डीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया र अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा लिगको दोस्रो संस्करण आगामी जेठ २२ गतेदेखि सुरु हुने तालिका समेत सार्वजनिक गरिएको छ ।

सिजन २ का लागि स्वदेशी खेलाडीहरूको छनोट प्रक्रिया पूरा भइसकेको छ भने १५ देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीहरूले ड्राफ्‌टका लागि नाम दर्ता गराएका छन् । कान्तिपुर म्याक्स टीभी एचडी आधिकारिक ब्रोडकास्ट पार्टनर रहेको यस लिगले नेपाली खेलकुद पर्यटन र व्यावसायिक कबड्डीमा नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ ।