Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कांग्रेस आन्दोलनमा नजाने


2.7k
Shares

काठमडाैं । नेपाली कांग्रेसले पार्टीका नेता रमेश लेखक पक्राउको विरोधमा सडक आन्दोलनमा नजाने बताएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता देवराज चालिसेले आफूहरू विधिको शासन मान्ने बताउनुभयो । एमालेले पूर्वप्रधानमन्त्री केपी ओली पक्राउको विरोधमा देशभर सडक आन्दोलनमा गएको छ । तर पूर्वगृहमन्त्री समेत रहेका लेखक पक्राउको विरोधमा कांग्रेस सडक आन्दोलनमा नजाने उहाँले जानकारी दिनुभयो ।

कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि नै प्रश्न उठाउनुभयो । भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष ढंगले टुङ्ग्याउनु भन्दा पनि सरकारले थप राजनीति गर्न खोजेको देखिएको उहाँको भनाइ छ । उहाँले दुवै दिनको घटनामा संलग्नलाई उत्तेजनामा नभई कानूनबमोजिम कारबाही हुनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले छानबिन आयोगको प्रतिवेदन २४ गतेको घटनामा प्रवेश नै नगरेको भन्दै कांग्रेसले सो दिनको आगजनी र विध्वंशमा संलग्न पनि कारबाहीको दायरमा आउनुपर्ने बताएको छ । दुवै दिनको घटनामा संलग्न जो सुकै भएपनि कारवाही हुनुपर्ने भन्दै कांग्रेसले त्यसमा आफ्नो पार्टीको साथ रहने बताएको छ ।

तर, कारवाही उत्तेजना र आवेगमा आएर नभई, कानूनी प्रक्रिया बमोजिम हुनुपर्ने कांग्रेसले जनाएको छ ।