Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


भीआईपी मुभमेण्टका नाममा नागरिकलाई सास्तिलाई तत्काल अन्त्य गर्न गृहमन्त्री गुरूङको निर्देशन


884
Shares

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले भीआईपी मुभमेन्टका नाममा सर्वसाधारण नागरिकले भोग्दै आएको सास्तीलाई तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री गुरुङले यस्ताे बताउनुभएकाे हाे। मन्त्री वा विशिष्ट व्यक्तिहरूको सवारीकाे समयमा सडक ठप्प पार्ने र नागरिकलाई घण्टौंसम्म जाममा राख्ने कार्य अब स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले भीआईपी सवारीका कारण नागरिकले दुःख पाउनु नहुने भन्दै यस विषयमा आवश्यक कार्यविधि परिमार्जन गर्न र निर्देशन जारी गर्न गृह सचिवलाई आग्रह गर्नुभएकाे छ। गृहमन्त्री गुरुङले सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचारको मुख्य कारण झन्झटिलो सेवा प्रवाह रहेको औँल्याउनुभयो ।

नागरिकले एउटै कामका लागि एक नम्बर कोठादेखि १० नम्बर कोठासम्म धाउनुपर्ने र कर्मचारीहरूसँग बारम्बार ठोक्किनुपर्ने बाध्यताले नै भ्रष्टाचारलाई प्रश्रय दिएको उहाँको ठहर छ । भ्रष्टाचार निर्मूल पार्न ‘वान डोर सर्भिस सिस्टम’ (एकद्वार सेवा प्रणाली) अनिवार्य रहेको उल्लेख गर्नुभयाे । उहाँले सेवाग्राही र कर्मचारीको प्रत्यक्ष भेटघाट कम हुनेगरी प्रविधिको विकास गर्न निर्देशन दिनुभएको छ । उहाँले नागरिकले एक ठाउँमा निवेदन दिएपछि अर्को ठाउँबाट सिधै सेवा पाउने वातावरण बनेमा मात्र ‘गुड गभर्नेन्स’ वा सुशासनको अनुभूति हुने बताउनुभएकाे छ।

गृहमन्त्री सुधन गुरुङले सञ्चारमाध्यमहरूलाई देश विकासको साझेदार बन्न र समाचार सम्प्रेषणमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।