काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
जनकपुरमा शुक्रबार भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई २५ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। मधेशले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २६ ओभरमा ९९ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका सुमित श्रेष्ठले ३० रन बनाएका थिए । मधेशका विशाल पटेलले ५ विकेट लिएका हुन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २४ रन बनायो । मधेशका मयन यादवले ३१ रन बनाएका थिए । लुम्बिनीका सन्देश थापा र सन्तोष यादवले ३/३ विकेट लिएका छन्। प्रतियोगितामा मधेशको यो लगातार दोस्रो जित र लुम्बिनीको यो पहिलो हार हो ।
त्यस्तै, वीरगञ्जमा शुक्रबारै भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेकाे छ । कोशीले दिएको १ सय ३१ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटाएकाे हाे । सुदूरपश्चिमका खडक बोहोराले ६६ रन बनाएका थिए । कोशीका विपिन महतोले २ विकेट लिएका छन् । यसअघि टस हारेर ब्याटिङ गरेको कोशीले ४३ ओभर ४ बलमा १ सय ३० रन बनाउँदा सबै विकेट गुमायो । कोशीका शिवाश बजगाईँले २५, सुमन श्रेष्ठले २४ रन बनाएका छन् । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिएका थिए । प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जित र कोशीको लगातार तेस्रो हार हो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता रहेकाे छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका हुन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्