११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


पोखराकी बालिका श्रेयाको बलात्कारपछि उनकै छिमेकी युवकबाट हत्या भएको खुलासा


0
Shares

अपडेटः

पोखरा, असोज १० । पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया विक (सुनार)को बलात्कारपछि हत्याको आरोपमा प्रहरीले बालिकाका छिमेकी कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी कास्की प्रहरीले पौडेललाई सार्वजनिक गरेको हो ।

रक्सी र लागुऔषधसमेत सेवन गरेर लठ्ठिएका आरोपी पौडेलले एक्लै फेलापरेकी बालिकालाई सुरुमा फकाउन खोजेको र बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर बेहोस बनाइ बलात्कार गरेको कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

पौडेलले सुरुमा बालिका श्रेयालाई चकलेट खान पाँच रुपैयाँ दिएको र बालिकाले नमानेपछि १० रुपैयाँ दिएर आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जबर्जस्ती गर्न थालेपछि बालिकाले चिच्याउन थालेको र त्यसपछि अभियुक्त पौडेलले बालिकालाई घाँटीमा समातेर झाडीमा फालेको बताएको पनि प्रहरीले जनाएको छ ।

त्यसपछि पौडेलले बेहोस अवस्थाकी बालिकालाई करणी गरेर ढुंगाले टाउकोमा हानेर हत्या गरेको खुल्न आएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रहरीकाअनुसार घटनापछि शंकास्पद आधादर्जन बढीलाई पक्राउ गरिएको थियो । तीनजना बढी शंकास्पदलाई केरकार गर्नेक्रममा २७ वर्षीय पौडेलले अपराध स्वीकार गरेको पनि प्रहरीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको बालिकाको पोस्टमार्टम रिपोर्टमा बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

पोस्टमार्टम रिपोर्टमा श्रेयाको यौनांग सुन्निएको र शरीरमा चोट देखिएको उल्लेख छ ।

गत सोमबार साँझ विद्यालयबाट फर्केर बिस्कुट किन्न गएकी श्रेया घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थियो । उनी स्थानीय लीला आधारभूत स्कुलमा कक्षा–३ मा पढ्दै थिइन् ।

मंगलबार बिहानै उनको शव अर्धनग्न अवस्थामा झाडीमा भेटिएको थियो ।

यसैबीच, हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीबाहिर प्रदर्शनसमेत गरेका छन् ।