Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्छः ज्येष्ठ सदस्य केसी


143
Shares

काठमाडाैं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने बताउनुभएको छ । 

बिहीवार सिंहदरवारमा संसदहरुको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने भएकोले संसदलाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताउनुभएको हो । संसद सञ्चालनको लागि उच्च राजनीतिक संस्कृतिको आवश्यकता हुने उहाँले बताउनुभयो ।

संसदभित्र देखिने वैचारिक घर्षणलाई सन्तुलित गर्दै सभामुखले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । सभामुखको मुख्य दायित्व सांसदहरूको विशेषाधिकारको रक्षा गर्नु, संसदको गरिमा कायम राख्नु तथा त्यहाँ हुने वादविवाद, प्रतिवाद र संवादलाई निष्पक्ष रूपमा संयोजन गर्नु भएको उहाँले बताउनुभयो ।

उहाँले सभामुख संसदको प्रवक्ता तथा संसदीय अधिकारको प्रमुख रक्षक भएको उल्लेख गर्दै पारदर्शिता, अनुशासन र मर्यादा कायम राख्नुपर्नेमा विशेष जोड दिनुभयो । सभामुखले संविधान, प्रतिनिधिसभा नियमावली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संसदीय मान्यताका आधारमा निर्णय लिनुपर्ने उहाँको भनाई छ । ज्येष्ठ सदस्य केसीले सभामुख कुनै एक पक्षको नभई सम्पूर्ण प्रतिनिधि सभाको साझा पद भएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर एकता कायम व्यक्ति सभामुख हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले बैठक सञ्चालन गर्न सभामुखको मर्यादालाई ख्या राख्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सभामुख भनेको पद सिंगो सर्वोच्च जनताको सार्वभौमिकताको प्रतिक हो । सांसदहरुको विशेषाधिकारको रक्षा, संसदको गरिमा र त्यहाँभित्र देखिने वादविवाद, प्रतिवाद र संवादका प्रक्रियालाई वैचारिक घर्षणहरुलाई संयोजन गरेर निष्पक्षतापूर्वक परिचालन गर्नु नै सभामुखको कर्तव्य हो । आउने साथीहरुले त्यहीअनुसार गर्नुहोला । कुनैपनि देशको राजनितिक संस्कृति भनेको त्यो देशको संसदले प्रतिनिधित्व गर्छ । त्यो राजनितिक संस्कृतिको प्रतिनिधित्वगर्ने थलो संसदको पनि सभामुखको नाताले उसले काम गर्नुपर्छ । सभामुख संसदको प्रवक्ता पनि हो, संसदीय अधिकारको रक्षक पनि हो । संसदको मर्यादा कायम गर्ने अत्यन्त ठूलो दायित्व रहन्छ, मैले त एक दुई वटा बैठक चलाउने हो । तर सभामुखको दायित्व र कर्तव्य निष्पक्ष, पारदर्शी, देशको संविधान, प्रतिनिधिसभाको नियमावली, स्थापित संसदीय मान्यताहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यताहरुको आधारमा कुनैपनि विषयलाई छिनोफानो गर्नको लागी सबैलाई समेटेर वृहत एकता कायम गर्ने, अनुशासन कायम गर्ने, मर्यादा कायम गर्ने दायित्व हुन्छ । सभामुख कुनै पक्षको हुँदैन, सिंगो प्रतिनिधि सभाको हुन्छ, सबैको साझा हुन्छ, त्यही अनुसार नै उहाँको विधी र व्यवहार हुनुपर्छ ।’
ज्येष्ठ सदस्य केसीले बिहीवार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई शपथ खुवाउनुभएको थियो । प्रतिनिधि सभामा सभामुखको चयन नभएसम्म ज्येष्ठ सदस्य केसीले सभाको बैठक सञ्चालन गर्नुहुनेछ ।