Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली


208
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वैचारिक रूपमा विचलित नभएको दाबी गर्नुभएको छ ।

पार्टीका सांसदहरुसँगको छलफलका क्रममा बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको ५५ वर्ष लामो इतिहासको स्मरण गर्दै उहाँले पार्टीलाई ‘सच्चिनुपर्छ’ भनी बाहिरबाट आउने दबाबको खण्डन गर्दै सच्चिनुको अर्थ अराजकता फैलाउनु नभएको बताउनु भयो ।

हालैका निर्वाचनहरूमा पार्टीले ‘अभूतपूर्व धक्का’ खाएको स्वीकार गर्दै उहाँले यो धक्का पार्टीको नीति वा विचारका कारण नभई सांगठनिक कमजोरी र घेराबन्दीका कारण भएको बताउनु भयो ।
पार्टी स्थापनाको कठिन दिनहरू सम्झँदै ओलीले भन्नुभयो, ‘हामी असहज स्थितिमा छौँ तर असहजतासँग जुधेर लडेर यो पार्टी राणा शाहीको समयमा राणा शाहीको समयमा चार जना मान्छेले खोलेको पार्टी हो । राणा शासनका बेला चार जनाले राणा शासन फालिन्छ सामन्तवाद फालिन्छ जनताको शासन ल्याइन्छ देशलाई आधुनिक बनाइन्छ भनेर लोकतान्त्रिक आधुनिक विकसित नेपाल बनाउने सपना देखेर त्यो अन्धकार युगमा संघर्षका लागि खोलिएको पार्टी हो यो ।

जम्मा चार जना । त्यसपछि आन्दोलनमा सरिक रहेका अरु साथीहरु मोतीदेवीजीलाई संस्थापककै रुपमा मान्यता दियो र उहाँसमेत पाँच जना संस्थापक भन्ने कुरा हामीले मानी आएका छौँ । र चार जना कलकत्तामा खोल्दाखेरी चार जना साथीहरु थिए । ऊ पछि नेपालमै भइराखेको मोतीदेवीजीलाई पनि संस्थापक हो उहाँलाई पनि जानकारी थियो भनेर मानेको त्यसरी मान्न सकिन्छ । यद्यपि संस्थापककै रुपमा मान्नुपर्ने व्यक्तिहरु अरु पनि थिए मनमोहनहरु अरु अरु पनि थिए। तर त्यतिबेला भएन त्यो कुरा । अब त्यो एउटा विवादको पनि विषय भएको छ । पुष्पलालजीले मोतीदेवी पनि संस्थापक हो भन्नुभएको छ अरुले मोतीदेवी संस्थापक होइन भनेका छन् संस्थापकहरु मध्येबाटै। हामीले पुष्पलालजीको भनाइलाई मानेर मोतीदेवीजीलाई पनि संस्थापक उहाँले मान्नुपर्छ विशेष कारणले भनेको हुनाले मानेका छौँ । त्यति सानो स्थितिबाट फैलाउँदै हामी आयौँ । र २२ सालपछि तेस्रो महाधिवेशनपछि २२ सालसम्म अलिअलि सङ्गठन थियो १९ सालमा तेस्रो महाधिवेशन भो। २२ सालसम्म अलिअलि चलेको थियो। त्यसपछि नेतृत्वले कोअर्डिनेसन गर्न पनि सकेन र छिन्नभिन्न भयो पार्टी, टुक्रिँदै गयो । र यति छिन्नभिन्न भयो एकातिर चर्को दमन अर्कातिर पार्टी छिन्नभिन्न भयो । र केही ससाना ग्रुपहरु रहे । त्यसै मध्यबाट २७ सालबाट केही पनि नभएको स्थिति भनौँ त्यसलाई । पुष्पलालजीले २५ सालमा तेस्रो सम्मेलन भनेर एउटा गर्नुभो एकताको प्रयास आन्दोलन अगाडि बढाउने तर त्यो अगाडि बढ्न सकेन। त्यो त्यत्तिकै शिथिल भयो । र हामीले शुरु गरिसकेपछि हामीले अर्को नयाँ ढङ्गले नयाँ विचार नयाँ उद्देश्य नयाँ कार्यक्रमका साथ अगाडि बढ्यौँ लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यक्रम त्यतिबेरै ल्याएका हौँ हामीले कि लोकतान्त्रिक गणतन्त्रका लागि काम गर्नुपर्छ भनेर स्पष्ट रुपमा। र त्यस संघर्षबाट अहिले आइपुग्दा ५५ वर्ष भए । यी ५५ वर्षहरुमा हामीले धेरै उतारचढाव देख्यौँ लगभग दुई तिहाइको पनि पुर्यायौँ फेरि आफ्नै भनिवबाट फुटाउने कमजोर पार्ने काम भो अरुले सक्ने थिएनन् तर अरुको औजार आफ्नै भित्रका भए मैले अघि नै भने । त यस्तो स्थितिमा हामी यतिबेला एउटा अभूतपूर्व धक्का खाएका छौँ । अभूतपूर्व धक्का खाएका छौँ । यो धक्का हाम्रो नालायकीपनले हाम्रा कामले हाम्रा भुलत्रुटीले होइन । एउटा चलाएको छ सच्चिनु पर्छ भन्ने । कसैले मलाई केही बताइदिन सक्या छैन अहिलेसम्म भने कहाँनेरी के सच्चिनु पर्ने हो ? सच्चिनु पर्ने भनेको के ? अझ अराजकता बनाउनु अराजकतामय बनाउनु पर्ने कि पार्टीलाई विचारहीन बनाउनु पर्ने कि पार्टीलाई के गर्नुपर्ने सच्चिने भनेको ? त्यसकारण हामी बिग्रेका छैनौँ । कम्युनिस्ट पार्टी नेकपा एमाले बिग्रेको छैन । हामी बिग्रियौँ कि वैचारिक हिसावले बिग्रियौँ कि आदि कुराहरुमा भर नपर्नुभए हुन्छ साथीहरु । यस्तो कुरा हल्लाको कुरा हो हामी बिग्रेका छैनौँ वैचारिक हिसाबले सही ठाउँमा छौँ। सांगठनिक हिसाबले हामी अलि कमजोर भयौँ हामीले हाम्रो विचारलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकेनौँ सङ्गठनात्मक सिद्धान्तलाई कार्यान्वयन गर्न सकेनौँ कमजोरी रह्यो बिग्रेको होइन। सिङ्गै पङ्क्तिलाई हामीले सचेत बनाएर त्यसरी लडाउन सकेनौँ स्वार्थी प्रवृत्तिहरु बढे त्यो कमजोरी हो हामीले अपराध गरेका होइनौँ ।’
उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प दोहो¥याउनु भयो ।