Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिनः मन्त्री सिन्हा


468
Shares

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले चाहेर पनि पोखरा र भैरहवा विमानस्थललाई सञ्चालनमा ल्याउन नसकेको बताउनुभएको छ ।

बिहीवार कानून मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नसकिएको स्वीकार गर्नुभएको हो । पर्यटन मन्त्रालय आफूले समाल्दै गर्दा अत्यन्त अव्यवस्थित अवस्थामा पाएको उहाँले बताउनु भयो ।

उहाँले ठूला पूर्वाधार निर्माण भएपनि तिनलाई सञ्चालन गर्ने स्पष्ट र कार्यान्वयनयोग्य योजनाको अभाव रहेको बताउनु भयो । उहाँले आफू मन्त्री भएपछि पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि कार्ययोजना र सुझाव तयार पारिएको बताउनु भयो ।

कार्ययोजना बनाएपनि निर्वाचनको कारण ठोस रूपमा कार्यान्वयनमा ल्याउन नसकेको उल्लेख गर्नुभयो । उहाँले युरोपियन युनियनको कालोसूचिमा रहेको नेपालको हवाई क्षेत्रलाई कालोसूचिबाट हटाउन आवश्यक सुधारको काम थालिएको पनि जानकारी दिनुभयो ।

उहाँकाअनुसार नागरिक उड्डयन प्राधिकरण सुधारको मार्गमा अघि बढ्न थालेको छ । युरोपियन युनियनकाका आवासीय राजदुतले पनि नेपाललाई कालोसूचिबाट हटाउनेमा सकरात्मक जवाफ दिएको उहाँको भनाई छ । उहाँले हवाई सुरक्षामा सुधार ल्याउन काठमाडौंमा हेलिकोप्टर चालकका लागि आवश्यक तालिम सञ्चालन गरिएको पनि जानकारी दिनुभयो ।

यसअघि यस्तो तालिमका लागि विदेश जानुपर्ने बाध्यता रहेको थियो । स्वदेशमै तालिम उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाई छ । उड्डयन क्षेत्र सुधारको प्रक्रिया शुरु भइसकेको उल्लेख गर्दै उहाँले आगामी सरकारले निरन्तरता दिएमा हवाई सुरक्षासम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन मन्त्रालयमा धेरै अस्तव्यस्तको बीचमा पुगेको थिए । पोखरा र भैरहवा विमानस्थलको कुरा आयो । विराटनगर र नेपालगञ्जको विमानस्थलको बारेमा अहिलेसम्म कुरा उठाउनु भएको छैन । हामीले यति ठूला संरचना त्यहाँ बनाएका छौँ कि त्यसलाई चलाउने कसरी भन्ने कुराको निश्चित र कार्यन्वयनयोग्य कार्ययोजना मैले फेला पार्न सकिन । त्यो विगतमा भएका केही सुशासनको अपवाद देखेँ मैले तिनिहरु, त्यसको म पिडा लिएर नै जान्छु ।

पोखरा र भैरहवा विमानस्थललाई चलाउनको लागी हामीले केही कार्ययोजनाहरु बनाएका छौँ, केही सुझावहरु दिएका छौँ तर ठोस रुपमा काम हामीले अगाडी बढाउन सकेका छैनौँ । चुनावको कारणले पनि सकेनौँ । तथापि किन हामी युरोपियन युनियनको कालोसूचिमा परिहरेका छौँ भन्नेकुरामा विस्तृत अध्ययन गरेर सुधारको कार्ययोजना बनाएका छौँ । नागरिक उड्ययन प्राधिकरण सही ट्रयाकका हिड्न थालिसकेको छ ।

मलाई युरोपियन युनियनका आवसीय राजदुतले पनि धेरै समयपछि हामी सम्पर्कमा बसेका छौँ, अब सकरात्मक काम हुन थाल्यो भन्नुभयो । हेलिकप्टरको सुरक्षाको लागी आवश्यक तालिम पनि काठमाडौमा संचालन गरिएको छ । सो तालिमका लागी हेलिकोप्टर चालकहरु विदेश जानुपर्ने अवस्था थियो, त्यो ठूलो उपलब्धी हो । अब उड्ययन क्षेत्र सुधारको क्रममा आईसक्यो, यसलाई निरन्तरता दियो भने हवाई सुरक्षाका कुरा चाँडै नै समाधान गर्न सकिन्छ । सुधारको सुरुवात भएको छ, आगामी सरकारले निरन्तरता दिएमा सुधारको कार्यक्रम अगाडी बढ्छ ।’

पशुपति क्षेत्रविकास कोष, लुम्बिनी विकास कोषलाई सुधार गर्न पनि कार्ययोजना बनाएको उहाँले जानकारी दिनुभयो । उहाँले आगामी सरकारलाई धेरै सहयोग हुनेगरी काम गरेको बताउनु भयो । वर्तमान सरकारले धेरै उपलब्धी हासिल नगरेपनि सकरात्मक वातावरण बनाईदिने काम गरेको उहाँको भनाई छ ।