काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो बेइजिङ भ्रमण तय भएको छ ।
इरानसँगको बढ्दो तनावका कारण राष्ट्रपति ट्रम्पको चीन भ्रमणको नयाँ मिति सार्वजनिक भएको हो । यसअघि उहाँ सन् २०१७ मा आफ्नो पहिलो कार्यकालका क्रममा चीन पुग्नुभएका राष्ट्रपति ट्रम्प आगामी मे १४ र १५ तारिखमा बेइजिङ जाने तय भएको हो । ह्वाइट हाउसले राष्ट्रपतिको चीन भ्रमणको मिति सार्वजनिक गरेसँगै यो उच्चस्तरीय भ्रमणले विश्व राजनीति र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ । यसअघि मार्च ३१ देखि अप्रिल २ सम्म ट्रम्प चीन भ्रमणमा जाने तालिका भएपनि इरानमाथि अमेरिका र इजरायलले शुरु गरेको युद्धका कारण उक्त भ्रमण निर्धारित समय भन्दा पछि सारिएको हो ।
भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता हुने भएकाे छ । दुई देशबीच लामो समयदेखि जारी भन्सार युद्ध सन् २०२५ को अन्त्यतिर केही मत्थर भएपछि व्यापारिक सम्बन्धलाई पुनः गति दिने विषयमा छलफल हुने प्रारम्भिक योजना रहेको जनाइएको छ । चीनले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको कडा निन्दा गर्दै आएको हाे । बेइजिङले युद्धरत पक्षहरूलाई संयमता अपनाउन र सैन्य बलको सट्टा संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गर्दै आएको छ ।
चीनको यो असन्तुष्टिकाबीच हुन लागेको राष्ट्रपति ट्रम्पको साेही भ्रमणलाई कूटनीतिक रूपमा निकै महत्त्वका साथ हेरिएको छ ।








प्रतिक्रिया दिनुहोस्