Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


९० प्रतिशत काम सपन्न भएका पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल बाढीले भत्कायाे


39
Shares

काठमडाैं । अविरल वर्षासँगै आएकाे बाढीले पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल बाढीले भत्काएको छ ।

पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल मंगलबार रातिको बाढीले भत्काएको हो । बाढी आएर खोलाको सतह गहिरो बनाएर टेका र फर्मा ढलेपछि पुल भाँचिएको प्राविधिकहरुले बताएका छन्। पाँचथरको मेवाखोलामा ४० मिटर लामो पुल बन्दै थियो । दुई वर्ष अगाडि पुल बगाएपछि नयाँ पुल बनाउने काम अघि बढेको थियो ।

मेवाखोलामा ९० प्रतिशत काम सपन्न भइसकेको पुल भाँचिएको मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयले जनाएकाे छ। ७ करोड ७६ लाख रुपैयाँमा सरोज निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको थियो ।

त्यसैगरी ताप्लेजुङको नेरुवा खोलामा ३५ मिटर लामो पुल भाँचिएको पूर्वाधार कार्यालय ताप्लेजुङले जनाएकाे छ। यस पुलकाे काम पनि अन्तिम चरणमा पुगेको थियो । मंगलबार राति बाढी आएर सपोर्टलाई क्षति गर्दा पुल भाँचिएको हाे । साेही ७ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएर पुल निर्माणको काम सञ्जिव निर्माण सेवाले गरिरहेकाे कार्यालय ताप्लेजुङले जनाएकाे छ ।