काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र नेपाल पुलिस क्लब फराकिलो अन्तरले विजयी भएका छन् ।
तल्लो मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय ७० रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । बागमतीले दिएको २ सय ९५ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय २४ रनमात्र बनाउन सक्यो । गण्डकीका अर्जुन कुमालले ७४, सुवास भण्डारीले २९ रन बनाए । बागमतीका रिजन ढकालले ३ तथा कप्तान सन्दीप लामिछाने र ईशान पाण्डेले २/२ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो । बागमतीका ईशान पाण्डेले ७१, आशुतोष घिरैयाले ५९ रन बनाए । गण्डकीका कमल परियारले २ विकेट लिएका थिए ।
त्यस्तै, मूलपानी मैदानमा मंगलबारै भएको दाेस्राे खेलमा नेपाल पुलिस क्लबले सशष्त्र प्रहरीको एपिएफ क्लबलाई १ सय ८५ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । पुलिसले दिएको ३ सय ५६ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा १ सय ७० रन बनाउँदा सबै विकेट गुमायो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेकाे प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका हुन् ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्