Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


झापामा भेटियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन आग्रह


247
Shares

झापा । दमक नगरपालिका र झापा गाउँपालिकामा कुखुरामा ‘बर्ड फ्लु’ देखा परेको छ । जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा संकटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा संक्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अन्डा, दाना र अन्य पक्षीजन्य सामग्री ओसारपसारमा पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ ।

भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार, दमक नगरपालिका–१० स्थित एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ । संक्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुरा सोमबार नै नष्ट गरिसकिएको उनको भनाइ छ ।

दमक, झापा गाउँपालिका मात्र नभई जिल्लाका मेचीनगर र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएकाले जोखिम बढेको अनुमान गरिएको छ ।

प्रमुख भट्टराईले किसानले ल्याएका नमुनाका प्रारम्भिक ‘र्‍यापिड टेस्ट’ गर्दा ‘रिपोर्ट पोजेटिभ’ देखिएको र थप प्राविधिक पुष्टिका लागि केन्द्रीय प्रयोगशालामा पठाएर पीसीआर परीक्षण प्रक्रिया अघि बढाइएको जान दिए ।

झापासँगै छिमेकी जिल्ला मोरङ र सुनसरीमा समेत यो रोग फैलिएकाले झापा बर्ड फ्लुको उच्च जोखिममा रहेको उनले बताए ।