Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा


819
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी रिटमाथिको सुनुवाई आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । यस मुद्दामा भोलि पनि सुनुवाइ हुनेछ ।

गत फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले पूर्ण सुनुवाईको निम्ति पेश गर्न आदेश दिएको यो रिट पाँचौँ पटक हेर्दाहेर्दैमा परेको हो । उक्त आदेश बमोजिम चैत १, २, ३ र ५ गते चार दिनसम्म हेर्दाहेर्दैमा राखेर नियमित सुनुवाई गरिएको थियो ।

न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले चार दिन नियमित सुनुवाई गरेको थियो । चैत ५ गतेको आदेशमा रविसँगै जीवी राई समेतको मुद्दा फिर्ता सम्बन्धी निर्णय पेश गर्न महान्यायाधिवक्ता कार्यालयलाई भनिएको थियो । उक्त आदेश बमोजिम आज रिटमाथि थप सुनुवाई भएको थियो ।

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो । महान्यायाधिवक्ता भण्डारीको उक्त निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अभियन्ता युवराज पौडेल सफलले मुद्दा दायर गरेका थिए ।