एजेन्सी ।
अमेरिका–इजरायलले इरानमा आक्रमण गरेपछि शुरु भएको युद्धको १४ दिनमै ५० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
कार्बनडाइअक्साइडको यो मात्रा विश्वका ८४ देशले गर्ने कुल उत्सर्जनभन्दा पनि धेरै हो । ‘क्लाइमेट एन्ड कम्युनिटी इन्स्टिच्युट’ को प्रतिवेदनमा विमान, जहाज र अन्य सैन्य गाडीहरूले १४ दिनमा १५ करोडदेखि २७ करोड लिटरसम्म इन्धन खपत गरेको जनाइएको छ । यस्तै सैन्य उपकरणको क्षतिले पनि कार्बनडाइअक्साइड उत्सर्जन बढेको छ ।
प्रतिवेदन अनुसार सबैभन्दा धेरै उत्सर्जन नागरिक पूर्वाधारमा भएको क्षतिबाट भएको भनिएको छ । प्रतिवेदनले ५० लाख ५५ हजार १६ टन कार्बनडाइअक्साइड उत्सर्जन भएको बताएको छ । यो कुवेत र आइसल्यान्डजस्ता देशहरूको वार्षिक उत्सर्जन बराबर मानिएको पछ ।
इरानको राहत तथा उद्धार एजेन्सी ‘रेड क्रिसेन्ट’ का अनुसार आक्रमणमा झन्डै २० हजार वटा भवन क्षतिग्रस्त भएका छन् । इरानको राजधानी तेहरान र अन्य क्षेत्रहरूमा रहेका ऊर्जा केन्द्रहरू लक्षित आक्रमणहरूले पनि उत्सर्जन बढाउन मद्त पु¥याएका छन् ।
यी आक्रमणहरूमा २५ लाखदेखि ५९ लाख ब्यारेल तेल नष्ट भएको प्रतिवेदनमा उल्लेख छ । यसैबीच बेलायतको एक पत्रिकाले इरान इजरायल अमेरिका युद्ध जलवायुका लागि विपत्ति बनिरहेको उल्लेख गरेको छ ।








प्रतिक्रिया दिनुहोस्