Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पश्चिम एशियामा जारी द्धन्द्धकाे प्रत्यक्ष असर नेपाली भान्सामा पनि….


104
Shares

काठमाडाैं । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि पश्चिम एशियामा फैलिएको द्वन्द्वको प्रत्यक्ष असर नेपालको भान्सासम्म समेत आइपुगेको छ ।

खाना पकाउने एलपी ग्यासको अभाव र पेट्रोलको मूल्यवृद्धिका साथ शुरू भएको असरले नेपाली अर्थतन्त्रका प्रमुख क्षेत्रहरूलाई एकैसाथ चपेटामा पार्न थालेको हाे। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म पेट्रोलियम पदार्थको आयात अवरुद्ध नभए पनि मूल्यवृद्धिका कारण निगमलाई १५ दिनमा मात्रै ४ अर्ब रुपैयाँ घाटा हुने स्थिति रहेकाे बताउनुभएकाे छ । उपभोक्तालाई पनि लिटरमै १५ रुपैयाँको वृद्धि भइसकेको छ ।

अर्थविज्ञहरुले इन्धनको मूल्य बढ्नेबित्तिकै यातायात र ढुवानीदेखि सबै क्षेत्रमा मूल्यवृद्धि हुने बताएका छन् । रेमिट्यान्समा पनि दबाब बढ्ने जोखिम छ । पश्चिम एशियाका देशहरूले नेपालको कुल रेमिट्यान्सको ४१ प्रतिशत हिस्सा ओगटेका छन् । गत आर्थिक वर्ष मात्रै साढे ६ लाख नेपाली त्यस क्षेत्रमा श्रम स्वीकृति लिएर पुगेका थिए । तर अहिले संयुक्त अरब इमिरेट्स (यूएई) र कतारजस्ता देशहरूमा कतिपय नेपाली कामदारलाई बेतलबी बिदामा राख्न थालेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

जसका कारणा पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पश्चिम एशिया हुँदै नेपाल आउने उडान अहिले आधा भन्दा कममा झरेका जनाएकाे हाे । यसका साथै रासायनिक मलको अभावले आगामी धान र मकै खेतीको मौसममा कृषि उत्पादनमा समेत गम्भीर असर पर्ने जानकारहरूको बताउदै आएका छन् ।

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको एकचौथाइ योगदान रहने गरेको छ । अर्थविद्हरूले इन्धनको खपत घटाउन जोर–बिजोर प्रणाली लागू गर्न र सार्वजनिक गाडीको प्रयोग बढाउन सुझाव समेत दिएका हुन् ।