Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


फेक रेस्क्युमा ३२ जना विरुद्ध मुद्दा दायर


1k
Shares

काठमाडौं ।
नेपाल प्रहरीले पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान पुरा गरी आज काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुमाथि राज्य विरूद्धको कसुर र संगठित अपराधको अभियोग लगाइएको छ । ३२ जनालाई प्रतिवादी बनाइए पनि अहिलेसम्म आठ जना मात्रै पक्राउ परेका छन् ।

पर्वतारोहणमा जाने पर्यटकहरुलाई विरामी भएको भन्दै हेलिकप्टरबाट उद्धार गर्ने र अस्पतालमा भर्ना गरेर वीमा रकम दाबी गरेर ठगी गर्दै आएको खुलासा भएपछि सीआइबीले अनुसन्धान शुरु गरेको थियो । मुद्धा दायर गरिएकाहरुमा रेस्क्यु कम्पनीहरु, ट्रेकिङ एजेञ्सीहरु, हेलिकप्टर कम्पनीहरु, अस्पताल र विचौलियालगायत छन् ।

प्रहरीले अहिलेसम्म माउन्टेन रेस्क्यू सर्भिसका जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्सका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुवास केसीलाई पक्राउ गरेको थियो ।

यस्तै विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पनि पक्राउ गरेको थियो । त्यस्तै, श्रीद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना पनि पक्राउ परेका छन् । अरु २४ जना भने फरार रहेका छन् ।