काठमाडाैं ।
कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवादलाई अन्त्य गर्दै शान्ति कायम गर्न सबै पक्षले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो बसेको सर्वपक्षीय बैठकले हिंसात्मक तथा साम्प्रदायिक द्वन्द्व भड्काउने गतिविधि नगर्ने सामूहिक प्रतिबद्धता जनाएको हो । बैठकमा हिन्दु र मुस्लिम समुदायबीच बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गरिएको थियो ।
घटनामा संलग्न केही व्यक्तिहरू पक्राउ परिसकेको र अन्यको खोजी तथा अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ । दोषीलाई कानुन अनुसार कडा कारबाही गरिने प्रतिवद्धता पनि जनाइएको छ । साथै, घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । प्रशासनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र उत्तेजक गतिविधि नगर्न सबैमा आग्रह गरेको छ ।
स्थानीय तहलाई शान्ति सुरक्षा कायम राख्न, सचेतना तथा मेलमिलापका कार्यक्रम सञ्चालन गर्न र प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिइएको छ । साथै, दुवै समुदायका नागरिकलाई संयमता अपनाउन र घरमै बस्न अपिल गरिएको छ ।
थप तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञालाई भने निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमद्वारा जारी आदेश अनुसार आज दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रभावित क्षेत्रमा भेला, जुलुस, सभा तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
पूर्वमा लवनी चोक, पश्चिममा बर्गदीयाको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माविसम्म निषेधाज्ञ लगाइएको छ । साम्प्रदायिक तनावलाई ध्यानमा राख्दै कपिलवस्तु नगरपालिकाले आजेदेखि सञ्चालन हुने तय भएको कक्षा ८ को नगरस्तरीय परीक्षा स्थगित गरेको छ ।








प्रतिक्रिया दिनुहोस्