Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेपाली भूमि लिपुलेक हुँदै चीनसँगको व्यापार पुनः शुरू गर्ने भारतको तयारी

व्यापारिक अवधि आगामी जुनदेखि सेप्टेम्बरसम्म रहने

299
Shares

काठमाडाैं । भारतले आगामी जुन महिनादेखि नेपाली भूमी लिपुलेक भञ्ज्याङमार्फत चीनसँगको व्यापार पुनः शुरु गर्ने तयारी गरेको छ ।

सन् २०२० मा कोभिड-१९ काे महामारीका कारण बन्द भएको यो ऐतिहासिक व्यापारिक मार्ग ६ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’ले जनाएको हाे । व्यापारिक अवधि जुनदेखि सेप्टेम्बरसम्म रहने बताईएको छ । मौसमी अनुकूलता हेरेर यो अवधि विस्तार गर्न सकिने बताइएको छ । भारतीय विदेश मन्त्रालयले पिथौरागढ जिल्लाका अधिकारीहरूलाई यस विषयमा जानकारी गराएपछि स्थानीय प्रशासनले व्यापारिक सिजनका लागि तयारी शुरु गरेको छ । उच्च हिमाली क्षेत्रमा सडक कनेक्टिभिटीमा सुधार आएकाले यसवर्ष व्यापारीहरूको सहभागिता बढ्ने भारतीय अधिकारीहरूको अनुमान छ ।

लिपुलेक नेपाली भू-भाग हो । पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वकाे सरकारले नेपालको नक्सामा लिपुलेकलाई समावेश गरे पनि भारत र चीनले नेपालको दावीलाई खासै महत्व दिएका छैनन् । नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई लिएर लामो समयदेखि भारतसँग विवाद जारी रहेकाे छ । सन् २०२० मा भारतले धार्चुलादेखि लिपुलेक भञ्ज्याङसम्म जोड्ने सडक उद्घाटन गरेपछि तनाव उत्कर्षमा पुगेको थियो ।

करिब १७ हजार ५ सय फिटको उचाइमा अवस्थित लिपुलेक भञ्ज्याङले भारतलाई तिब्बतको ताक्लाकोट सहरसँग जोड्छ ।