Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेविसंघलाई नेपालको इतिहासबाटै अलग राखिए इतिहास अधुरो र अपुरो हुनेछ: महामन्त्री घिमिरे

नेविसंघकाे ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न नसक्ने उल्लेख

260
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि राेक्न नसक्ने बताउनुभएको छ ।

नेविसंघले आइतबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पार्टी कार्यालय सानेपामा महामन्त्री घिमिरेले नेविसंघलाई नेपालको इतिहासबाटै अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुने बताउनुभयाे । यसको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न नसक्ने उल्लेख गर्नुभयो । २०२७ सालमा पञ्चायती कालरात्रि विरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन र प्रजातन्त्रको पुनःस्थापना गर्न नेविसंघको स्थापना भएको समेत उहाँले स्मरण गर्नुभएकाे छ । उहाँले कतिपय सन्दर्भमा पार्टी भन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको उल्लेख गर्नुभयो ।

महामन्त्री घिमिरेले पछिल्लो समय नेविसंघका गतिविधिहरुलाई पार्टीले सुक्ष्म रुपमा नियालिरहेको बताउनुभयो । मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट नयाँ दलहरुको उदय भएको सन्दर्भमा नेविसंघको भुमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले नेपालमा ४० वर्ष मुनिका करिब १ करोड २० लाख युवा जनमत रहेको तथ्यलाई औंल्याउँदै कुनैपनि राजनीतिक दलले यो जनमतलाई उपेक्षा गर्नु मूर्खता हुने समेत बताउनुभयो ।

महामन्त्री घिमिरेले नेपाल तरुण दल र नेपाल महिला संघ लगायतका अन्य भ्रातृ संस्थाहरुका विषयमा पनि पार्टीले संस्थागत निर्णय गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । आइतबार बिहान नेविसंघ आस्थावान कार्यकर्ताहरुको टोलीले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि तथा वर्तमान नेतृत्वद्वारा सञ्चालित घटनाले संगठन र पार्टी दुवैको गरिमामा आँच पुर्‍याएको आरोप लगाउँदै ज्ञापन पत्र बुझाएको छ । गणपूरक संख्याको न्युनतम उपस्थिति समेत नभएको बैठकले निर्णयय गर्नु अवैधानिक हुने उनीहरुको ठहर थियाे ।