Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पश्चिम एशियामा जारी द्वन्द्वका कारण भारतमा इन्धनको मूल्यमा वृद्धि

नयाँ मूल्य तत्कालै लागू हुने

1.9k
Shares

एजेन्सी । पश्चिम एशियामा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्यमा वृद्धि भएको छ ।

तेल मार्केटिङ कम्पनीहरूले गत शुक्रबारदेखि लागू हुनेगरी प्रिमियम गुणस्तरको पेट्रोलमा प्रतिलिटर करिब २ दशमलव ३० भारतीय रुपैयाँ र औद्योगिक डिजेलमा प्रतिलिटर २२ भारतीय रुपैयाँ वृद्धि गरिएको हो । पश्चिम एशियामा बढ्दो तनावलाई इन्धनको मूल्य बढ्नुको मुख्य कारण मानिएको छ । यो नयाँ मूल्य तत्कालै लागू हुने कम्पनीहरूले पुष्टि गरेका छन् ।

औद्योगिक डिजेलको मूल्यमा भएको भारी वृद्धिले उत्पादन (म्यानुफ्याक्चरिङ), ढुवानी (लजिस्टिक) र विद्युत उत्पादन जस्ता विभिन्न क्षेत्रहरूमा प्रतिकूल असर पार्ने देखिएको छ । स्थानीय सञ्चारमाध्यमहरूले यसले उत्पादन र यातायात लागत बढाउने हुँदा दैनिक उपभोग्य वस्तुहरू समेत महँगो हुनसक्ने सम्भावना जनाएका हुन् । यद्यपि भारतको संघीय सरकारले प्रिमियम पेट्रोलको मूल्य वृद्धिलाई खासै ठूलो समस्याका रूपमा लिएको छैन ।

सरकारले देशमा कूल पेट्रोल खरिद गर्ने उपभोक्तामध्ये केवल २ देखि ४ प्रतिशतले मात्र प्रिमियम पेट्रोल प्रयोग गर्ने भएकाले यसको प्रभाव न्यून रहने जनाएकाे हाे ।