Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


३ दिनपछि अवरूद्ध दाउन्‍ने सडक आजदेखि एकतर्फी रूपमा खुल्‍यो


351
Shares

काठमाडौं । अविरल वर्षाका कारण गत शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार बिहानदेखि एकतर्फी रुपमा सवारी सञ्चालनमा आएका छन् ।

लगातारको वर्षाका कारण सडक हिलाम्मे र चिप्लो भएपछि उकालोमा गाडी चढ्न नसक्दा खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । इलाका प्रहरी कार्यालय दुम्किवासले शुक्रबार साँझदेखि सडकमा पश्चिमबाट आउने सवारी साधन बर्दघाट र पूर्वबाट जाने सवारी दुम्किवासमै रोकिएकाे जनाएकाे छ । विशेषगरी दाउन्नेको मोड र घ्यू खोला क्षेत्रमा सडक बढी जोखिमपूर्ण बनेको प्रहरीले जनाएको हाे ।

प्रहरी कार्यालय दुम्किवासले आइतबार बिहानदेखि पालैपालो एकतर्फी रूपमा सवारी साधन चल्न थालेकाे जनाएकाे छ। शुक्रबारदेखि रोकिएका ठूला मालवाहक सवारी साधन र बस आइतबार बिहानदेखि छुट्न थालेपछि सडकमा करिब ७ किलोमिटरसम्म लामो जाम लागेको छ । पश्चिम जाने सवारी कावासोतीको जंगल क्षेत्र र पूर्व आउने सवारी बर्दघाटसम्म लामबद्ध छन् ।

नारायणघाट–बुटवल सडक विस्तार अन्तर्गत अधिकांश भाग कालोपत्रे भए पनि दाउन्नेको करिब ३–४ किलोमिटर खण्ड अझै ढलान हुन सकेको छैन । सोही खण्डका कारण यात्रुहरुले सास्ती भोग्दै आएकाे प्रहरीले बताएकाे हाे ।