काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा भएको घटनापछि युनिट सुरक्षामा लापरबाही देखिएको निष्कर्षसहित गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई कारबाहीका लागि काठमाडौंस्थित प्रधान कार्यालय झिकाइएको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार चैत्र ४ गते भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा उत्पन्न विवादपछि केही तस्कर समूह अनाधिकृत रूपमा गुल्म परिसरभित्र प्रवेश गरी हुलहुज्जत गरेका थिए। सो क्रममा उनीहरूले गुल्मपतिमाथि हातपातको प्रयास समेत गरेको भए पनि त्यहाँ उपस्थित सुरक्षाकर्मीले आवश्यक बल प्रयोग नगरेको र युनिट सुरक्षा पर्याप्त रूपमा अपनाइएको नदेखिएपछि मुख्यालयले गम्भीर चासो लिएको हो।
कार्यालयभित्रै कमाण्डरमाथि आक्रमणको प्रयास हुँदा समेत किन प्रभावकारी प्रतिकार भएन, सुरक्षा संयन्त्र किन कमजोर रह्यो भन्ने विषयमा विस्तृत छानबिन हुने सशस्त्र प्रहरीले जनाएको छ। साथै, तस्कर समूह कसरी सुरक्षा घेरा तोडेर भित्र प्रवेश गर्न सफल भयो भन्ने पक्ष पनि अनुसन्धानको केन्द्रमा राखिएको छ।
घटनाको छानबिनका लागि यसअघि सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. ४३ रिजर्भ गण वनबेहडा, कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरिसकेको छ।
घटनाका बेला ड्युटीमा रहेका सुरक्षाकर्मीहरूलाई पनि मुख्यालय तानिएको छ भने खक्रौला गुल्ममा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट नयाँ टोली खटाइएको छ।
सशस्त्र प्रहरी बलले देशव्यापी रूपमा तस्करी नियन्त्रण अभियान सञ्चालन गरिरहेको सन्दर्भमा खक्रौला नाकाबाट हुने अवैध कारोबारमाथि पनि विगतदेखि नै विशेष निगरानी राखिँदै आएको थियो। तथापि, पछिल्लो घटनाले सुरक्षा व्यवस्थामा कमजोरी उजागर गरेको भन्दै प्रधान कार्यालयले कडाइका साथ छानबिन अघि बढाएको छ।








प्रतिक्रिया दिनुहोस्