काठमाडौं ।
त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले शनिबार चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा पहिलो स्थान हासिल गरेका छन् । महिला हाफ म्याराथनमा त्रिभुवन आर्मीकै पूर्णलक्ष्मी न्यौपाने विजेता बनिन् ।

पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको वर्चश्व रह्यो । म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले प्राप्त गरे । विजेता विनोदले २ घन्टा १७ मिनेट ५५ सकेन्डमा दौड पूरा गरी पहिलो स्थान प्राप्त गरेका हुन् । दोस्रो हुने सुशील कुमार शाही २ घन्टा १८ मिनेट १६ सकेन्ड समय लगाएर दोस्रो तथा आर्मीकै नरेन्द्र सिह राउत २ घन्टा १९ मिनेट ५८ सकेन्ड समयसहित तेस्रो भए ।
पुरुष म्याराथनमा विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो हुने सुशीलले दुई लाख ५० हजार र तेस्रो हुने नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी म्याराथनमा शीर्ष दस स्थानमा रहने धावकहरुलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले दावेदार सन्तोषी श्रेष्ठलाई निराश बनाउँदै उपाधि जितिन् । पूर्णलक्ष्मीले एक घन्टा १७ मिनेट दस सकेन्ड समय लगाएर सबैभन्दा छिटो दौड पूरा गरिन् । पछिल्ला संस्करणकी विजेता सन्तोषीले (१ः१८.४० सकेन्ड) ले उपविजेतामा चित्त बुझाइन् । पछिल्लो संस्करणमा सन्तोषीसँग पछाडि परेपछि पूर्णलक्ष्मी दोस्रो स्थानमा थन्किएकी थिइन् । आर्मीकै दुई धाविका निशा सार्की (१.१९ः१९ सकेन्ड) तेस्रो र सुनसरी रोकाया (१ः२१.४६ सकेन्ड) चौथो र रुवान सिइङ पाँचौं भए ।

महिला हाफ म्याराथनमा विजेता पूर्णलक्ष्मीले एक लाख ५० हजार, उपवजेता सन्तोषीले एक लाख, तेस्रो हुने निशाले ८० हजार, चौथो हुने सुनसरीले ५० हजार र पाँचौँ स्थान प्राप्त गर्ने रुवानले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यसैगरी भेटरान्स ५ किमी दौडमा धर्म महर्जनले पहिलो स्थान हासिल गरे । सो दौडमा रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए । पुरुष ५ किलोमिटर खुल्ला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए । ५ किलोमिटर दौड गल्र्समा दिपशिाख शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शीर्ष तीन स्थानमा रहे । ५ किलोमटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्द कुमार यादवले तेस्रो स्थान हासिल गरे ।
म्याराथनकै अवसरमा पारेर तीन किलोमिटरको वाकाथनको पनि आयोजना गरिएको थियो । पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनिया राजदूतावासको सहयोगमा भएको हो । विजेताहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा लुम्बिनी पिस म्याराथनका संयोजक अशोक वज्राचार्यलगायतले नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्