Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज


117
Shares

काठमाडौं ।

नेपाली राजनीतिका शिखर पुरुष, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज मुलुकभर विविध कार्यक्रमका साथ मनाइँदैछ ।

नेपालको शान्ति प्रक्रियाका मुख्य सूत्रधार र लोकतान्त्रिक आन्दोलनका अविचलित नेता कोइरालाको २०६६ साल चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो ।

नेपालमा एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्तिपूर्ण अवतरण गराई मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा डोर्‍याउन कोइरालाले अभिभावकीय भूमिका निर्वाह गरेका थिए । उनको योगदानलाई नेपाली राजनीतिमा विशेष महत्त्वका साथ स्मरण गरिन्छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी शासन सत्ता आफ्नो हातमा लिन थालेपछि मुलुकमा संवैधानिक संकट गहिरिएको थियो । राजाको स्वेच्छाचारिता र दलहरूमाथिको प्रतिबन्धका विरुद्धमा कोइरालाले सडक संघर्षको नेतृत्व गरेका थिए । २०६१ माघ १९ गते राजाले प्रत्यक्ष शासन सत्ता सम्हालेपछि कोइरालाले नै छरिएका राजनीतिक दलहरूलाई एउटै मोर्चामा उभ्याएर पूर्ण लोकतन्त्रका लागि निर्णायक आन्दोलनको शंखघोष गरेका थिए ।

कोइरालाकै दृढ संकल्प र सात दलको कार्यदिशा अनुरूप २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न बाध्य भएका थिए । सोही ऐतिहासिक कदमलाई नेपाली राजनीतिको ‘म्याग्नाकार्टा’ का रूपमा चिनिन्छ । पुनःस्थापित संसद्ले २०६३ जेठ ४ गते राजाका सम्पूर्ण अधिकारहरू कटौती गर्दै उनलाई आलङ्कारिक भूमिकामा सीमित गरिदिएको थियो । त्यसपछि कोइराला चौथो पटक प्रधानमन्त्री बन्दै मुलुकको बागडोर सम्हाल्न पुगेका थिए ।

कांग्रेसका संस्थापक एवं जननायक बिपी कोइरालाको ६ दशक लामो संविधानसभा निर्वाचन गर्ने सपना गिरिजाप्रसादकै नेतृत्वमा २०६४ चैत २८ गते साकार भएको थियो । पहिलो संविधानसभा निर्वाचनमार्फत सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी) लाई संसदीय राजनीतिको मूलधारमा ल्याउन कोइराला सफल भएका थिए ।

मुलुकको संक्रमणकालीन अवस्थामा कार्यवाहक राष्ट्राध्यक्षको समेत जिम्मेवारी सम्हालेका कोइरालाको नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य भयो र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । उनी आफ्नो निर्णयमा अडिग रहने र ‘बोलेको कुरा पुर्‍याउने’ राजनेताका रूपमा स्थापित थिए ।

गिरिजाप्रसाद कोइरालाले मुलुकमा शान्ति स्थापना र लोकतन्त्र सुदृढीकरणका लागि पुर्‍याएको अविस्मरणीय योगदानको कदर गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरूले देशैभर विचार गोष्ठी, दीप प्रज्वलन तथा फलफूल वितरण लगायतका कार्यक्रम आयोजना गर्दैछन् । नेपाली राजनीतिको कठिन मोडमा साहसिक निर्णय लिन सक्ने उनको क्षमताको आज पनि उत्तिकै चर्चा हुने गर्दछ ।