Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


पारदर्शी ढंगले क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः वरिष्ठतम न्यायाधीश मल्ल

न्यायपालिकाको जनआस्था जोगाउन ‘बार र बेन्च’ बीचको निरन्तर संवाद आवश्यक

546
Shares

काठमाडाैं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीचको निरन्तर संवाद आवश्यक रहेको बताउनुभएको छ ।

भक्तपुरमा शुक्रबार आयोजित कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यहि चैत १८ गतेदेखि बार र बेन्चबीचको संवादलाई निरन्तरता दिने घोषणा गर्दै यसले न्याय सम्पादनमा रहेका अवरोधहरू हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अदालत अहिले जटिल परिस्थिति र संकट व्यवस्थापनको योजनाबाट गुज्रिरहेको स्वीकार गर्दै उहाँले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिनुभएकाे छ।

न्यायाधीश नियुक्तिमा उठ्ने गरेका प्रश्नहरूकाे बारेमा टिप्पणी गर्दै उहाँले पारदर्शी ढंगले क्षमताको आधारमा र राजनीतिक हस्तक्षेपमुक्त नियुक्ति हुनुपर्ने बताउनुभयो । सुशासनका लागि न्याय परिषद्लाई प्रभावकारी बनाउने र सुक्ष्म निगरानीलाई निरन्तरता दिने उहाँको योजना छ । वरिष्ठतम न्यायाधीश मल्लले महिला कानून व्यवसायीहरूलाई न्याय सुधारका क्षेत्रहरू पहिचान गर्न जिम्मेवारी दिँदै ती विषयहरू कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

न्यायाधीश मल्लले न्याय क्षेत्रमा महिलाहरूको बढ्दो सहभागिताका बावजुद उनीहरूको क्षमतामाथि बारम्बार प्रश्न उठाइने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । पुरुष न्यायाधीश वा कानून व्यवसायीको क्षमतामा खासै प्रश्न नगरिने तर महिलाहरूले भने प्रत्येक दिन आफ्नो सक्षमताको परीक्षा दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

वरिष्ठतम न्यायाधीश मल्लले न्याय सेवा र सरकारी वकिल समूहमा महिलाको उपस्थिति ३० प्रतिशत पुग्न लागे पनि न्यायाधीश तहमा अझै कम रहेको उहाँले औँल्याउनुभएकाे छ । महिलामा लगानी गर्दा त्यसले समाज र राष्ट्रलाई नै फाइदा पुग्ने उहाँकाेे भनाइ छ।