काठमाडाैं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म पश्चिम एशियाबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।
मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले यस्ताे जानकारी दिनुभएको हो । उहाँका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उहाँको दावी छ । इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावकाबीच मध्यपूर्वका विभिन्न देशहरुबाट मन्त्रालयको आपत्कालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कूल १ सय ७० पटक सम्पर्क भएको उहाँले उल्लेख गर्नुभयो ।
प्रवक्ता क्षेत्रीले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिनुभएकाे छ। उहाँले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाकाे बारेमा निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिनुभयो । ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनैपनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको बताउनुभएकाे छ । जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उहाँको भनाइ थियाे ।
प्रवक्ता क्षेत्रीले पश्चिम एशियामा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागि समेत तयार रहेको जानकारी दिनुभएकाे छ।








प्रतिक्रिया दिनुहोस्