काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशनलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सबै जाती र समूदायले समान अधिकार प्राप्त गरेको जिकिर गर्नुभयो ।
गणतन्त्र स्थापनापछि जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले अधिकार प्राप्त गरेको उल्लेख गर्दै उहाँले अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरिसकेको भन्दै पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि विभाजनकारी ढंगले प्रयोग गर्न नहुने धारणा राख्नुभयो ।
उहाँले सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै त्यस समयमा जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी र सर्वसाधारण नागरिकको ज्यान गएको स्मरण गराउनु भयो । उहाँले भन्नुभयो, ‘गणतन्त्रले सबैलाई अधिकार दियो । जनजातीलाई दियो, मधेसीलाई दियो, मुस्लिमलाई दियो, महिलालाई दियो, खस आर्यलाई दियो । सबैले अधिकार पायो । अन्तिम सत्य के हो भने हामी सबैभित्र मानवता छ । यो जातको नाममा , धर्मको नाममा राजनीति होइन ।
राजनीति मानवताको आधारमा हो । अहिले यो जात र धर्मको समावेशिता के को लागि भन्दा हाम्रो पहिचान र हाम्रो अस्तित्वको लागि हो । साथै हाम्रो संस्कृति र परम्पराको जगेर्नाको लागि चाहिएको हो । नत्र भने सशस्त्र विद्रोहको क्रममा कुन जातको मर्यो भनेर कसले हेरेको थियो । सेना, प्रहरी र आम नागरिक मरेको थियो ।
त्यसरी मान्छे मर्नु हुदैन भनेर त्यहाँ शान्ती सम्झौता गरिएको हो । तर जातको पहिचान, जातको अस्तित्व समावेशी र समानुपातिक प्रतिनिधित्व यो संविधानले सुनिश्चित गरेको हो । त्यसैले अब हामीले सधैं अधिकारको लडाईं लड्ने होइन कर्तव्यको व्यवस्थापन गरेर जाने हो ।’ सबै वर्ग र समुदायको अधिकारको कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्