Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


गर्मी बढेसँगै हिमाली क्षेत्रमा जान थाले बेँसी झरेका भोटे समुदाय


104
Shares

‎बाजुरा । बाजुरा लगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न बेँसी क्षेत्रमा जाडो कटाउन झरेका भोटे समुदाय यतिबेला पुनः हिमाली भू-भागतर्फ उक्लिन थालेका छन्।

चैत लागेसँगै तापक्रम बढ्न थालेपछि चरनका लागि प्रशस्त घाँस पाइने उच्च क्षेत्रमा फर्कने क्रम सुरु भएको छ । हिउँदकाे समयमा अत्यधिक चिसो र हिमपातका कारण भेडाबाख्रा पालन गर्न कठिन भएपछि भोटे समुदाय बेँसी झर्ने गरेका थिए । तर गर्मी बढेसँगै माथिल्लो भू-भागमा हरियाली बढ्ने र चरन सहज हुने भएकाले उनीहरू फेरि आफ्नो पुरानो बासस्थानतर्फ फर्कने परम्परा रहँदै आएको बताएका छन् ।

जिल्लाको पूर्वी उत्तरी भेगका भोटे समुदायले पुस्तौँदेखि मौसमअनुसार गोठ सार्ने चलनलाई निरन्तरता दिँदै आएका छन्। चैत–वैशाखदेखि असोजसम्म उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने र त्यसपछि पुनः जाडो सुरु हुनुअघि बेँसी झर्ने उनीहरूको जीवनशैली प्रकृतिसँग नजिक छ।

पहिलेका समयमा गोठ सार्दा बाटोमा पर्ने गाउँसँग नुन, तेल, चामलजस्ता दैनिक उपभोग्य सामग्री साटासाट गर्ने चलन थियो।
‎ पछिल्लो समय सडक पहुँच विस्तार भएसँगै यस्ता परम्परागत अभ्यास हराउँदै गएका छन्। यद्यपि, सामुदायिक वन व्यवस्थापनका कारण चरन क्षेत्र सीमित बन्दै जानु, युवा पुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुनुजस्ता कारणले भेडापालन व्यवसायमा चुनौती थपिएको भेडापालक किसानहरुको भनाइ छ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका अनुसार जिल्लामा अझै पनि सयौँ भेडीगोठ सञ्चालनमा छन्। तर पछिल्ला वर्षहरूमा चरन अभाव र श्रमिक कमीका कारण भेडापालन क्रमशः घट्दै गएको केन्द्रका प्रमुख सिद्धराज जैशीले बताउनु भएकाे छ ।