Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


एमालेलाई प्रधानमन्त्री कार्कीको आग्रह– जनताका मुद्दामा लागिरहनुहोस्


0
Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा (एमाले) लाई धन्यवाद दिएकी छन् ।

मङ्गलवार आज प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्री कार्कीको निमन्त्रणालाई स्विकारेर एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी छन् ।

साथै देश र जनताका मुद्दामा बोकेर निरन्तर लागीरहन सुझाएकी छन् । ‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो, राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु । एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ, राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।’ उनले भनिन् ।

उनले राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहन आग्रह गरिन् ।