काठमाडौं । २१ औं एनएभी कप रोमाञ्चक प्रतिस्पर्धासँगै जेसी डोनाथ रिजर्भमा भव्य रूपमा सम्पन्न भएको छ।
डिफेन्डिङ च्याम्पियन फारवेस्ट हन्टर्स क्रिकेट क्लबले उत्कृष्ट प्रदर्शन दोहोर्याउँदै गत वर्षकै उपविजेता एक्सपर्ट सगरमाथा ब्लुजलाई २८ रनले पराजित गर्दै उपाधि हात पारेकाे छ ।
टस जितेर पहिले ब्याटिङ (बल्लेबाजी) गरेको फारवेस्ट हन्टर्सले १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो। ब्याटिङमा उत्रिएको एक्सपर्ट सगरमाथा ब्लुजले राम्रो प्रयास गरे पनि १५४ रनमै सीमित रह्यो। विजेता टोलीले नगद ५,५०० अमेरिकी डलर प्राप्त गर्दा उपविजेताले २,१०० डलर हात पारेका छन् ।

व्यक्तिगततर्फ टिडब्लुजिजीजी क्रिकेट क्लबका सुनिल भट्ट उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने उज्ज्वल थापा उत्कृष्ट बलर बनेका छन् भने फारवेस्ट हन्टर्सका दिपेश बिष्ट प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
त्यसैगरी, ८ औं च्यारिटी कपमा फारवेस्ट कम्युनिटी क्लबले एनएनसिआई कम्युनिटी क्लबलाई पराजित गर्दै उपाधि जितेकाे छ। साथै, पहिलो स्पोर्ट्स चौतारी किड्स प्रतियोगितामा ३५ जना बालबालिकाको सहभागिता रहेको थियो र सबैलाई प्रोत्साहनस्वरूप पदक प्रदान गरिएको थियो। कार्यक्रमले खेलमार्फत समुदायबीच एकता, स्वास्थ्य र सहकार्यको सन्देश दिएकाे एनएभी स्पोर्ट्स चौतारीका अध्यक्ष सुनिल खड्काले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्