काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी भूमिका श्रेष्ठले संसद्मा आफ्नो प्रवेशसँगै जिम्मेवारी थपिएको बताएकी छन्।
उनी नेपालको संसदीय इतिहासमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रूपमा पुग्ने पहिलो व्यक्ति हुन्।
ललितपुरमा जारी पार्टीको अभिमुखीकरण कार्यक्रमका क्रममा श्रेष्ठले रास्वपाले समावेशी सिद्धान्त र सुशासनलाई उच्च प्राथमिकता दिएकाले आफूले यो पार्टी रोजेको बताइन्। “संविधानको धारा १२, १८ र ४२ मा हाम्रो समुदायको अधिकार उल्लेख भए पनि उचित संरचना नहुँदा कार्यान्वयनमा समस्या छ,” उनले भनिन्, “अब आवश्यक नियम-कानुन बनाउन र ती अधिकारलाई व्यवहारमा उतार्न म सक्रिय हुनेछु।”
श्रेष्ठले आफ्नो एजेन्डा केवल आफ्नै समुदायमा मात्र सीमित नभई मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पछाडि पारिएका सबैको आवाज उठाउनु रहेको स्पष्ट पारिन्। आगामी ५ वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता र वैवाहिक समानताका मुद्दालाई किनारा लगाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ। डेढ दशकदेखि सामाजिक अभियन्ताका रूपमा सक्रिय श्रेष्ठले पार्टीले मन्त्रालयको जिम्मेवारी दिए पनि पछि नहट्ने बताइन्।








प्रतिक्रिया दिनुहोस्