Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


एनआरएनएको १२औं विश्व सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र जारी

लगानी, श्रमिक सुरक्षा र एकतामा विशेष रूपमा जोड

143
Shares

काठमडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं विश्व सम्मेलन तथा बृहत अन्तरराष्ट्रिय एकता महाधिवेशन काठमाडाैंमा सम्पन्न भएको छ ।

‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित गत फागुन ३० गतेदेखि शुरु भएको सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको हाे ।सम्मेलनले नेपालमा गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन कानुनी तथा नीतिगत सुधार गर्दै सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । त्यस्तै, रोजगारी सिर्जना र उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि जनाएको हाे । घोषणापत्रमा गैरआवासीय नेपालीको लगानी व्यवस्थापनका लागि छुट्टै निकाय स्थापना, बैंक खाता खोल्ने र लगानी फिर्ता लैजान सहज व्यवस्था गर्न सम्बन्धित ऐन तथा नियमावली संशोधन गर्न सरकारसँग माग गरिएको छ ।

त्यस्तै, सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संकटमा परेका नेपालीको उद्धार, राहत र पुनःस्थापनामा नेपाल सरकार तथा अन्तरराष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने जनाएको छ । विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तरराष्ट्रिय संस्था तथा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको हाे ।

जलविद्युत, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रवद्र्धन गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । सम्मेलनमा चार हजार २ सय ८६ जना प्रतिनिधि सहभागी भएकाे एनआरएनएले जनाएकाे हाे।