Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


ललितपुरकाे एक ग्यास उद्योगमा लुकाएकाे अवस्थामा ६ हजार ग्यास सिलिन्डर भेटियो, उद्योगलाई ३ लाख जरिवाना

ग्यास अवैध रूपमा कारोबार भएकाे सूचना पाएमा तत्काल ११३७ मा फोन गर्न वाणिज्य विभागको अनुरोध

481
Shares

काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिको गोदाममा भण्डारण गरिराखेको अवस्थामा ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ ।

ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले साेमबार ग्यास सिलिन्डर फेला पारेको हो । विभागले साेही उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेकाे छ। साेही ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको हाे । ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ ।

पश्चिम एशियामा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशंकामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको हाे । अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन पनि विभागले सबैमा अनुरोध गरेको छ ।

पछिल्लाे समय खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको र बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई सूचना दिन आग्रह गरेको हो । निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायमै रहेकाे छ ।

साथै विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानूनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानूनी क्रियाकलाप नगर्न सचेत गराएको छ ।