Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


बंगलादेशले ११ वर्षपछि पाकिस्तानसँगकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जित्याे

पाकिस्तान भने ११ रनले पराजित

208
Shares

काठमाडाैं । पाकिस्तानसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बंगलादेश जितेकाे छ।

ढाकामा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ११ रनले पराजित गर्दै २–१ ले शृङ्खला जितेको हो । बंगलादेशले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७९ मात्र बनाउन सकेकाे थियाे । पाकिस्तानका सलमान अली आगाले ९८ बलमा १ सय ६ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बंगलादेशका तास्किन अहमदले ४ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो । बंगलादेशका तन्जिद हसन तमिमले १ सय ७ रन बनाएका छन् । पाकिस्तानका हरिस रउफले ३ विकेट लिएका थिए । शृङ्खलाको पहिलो खेल बंगलादेशले ८ विकेटले जितेको थियो । दोस्रो खेलमा पाकिस्तान डकवर्थ लुइस नियमका आधारमा १ सय २८ रनले विजयी भएको थियो ।

बंगलादेशले ११ वर्षपछि पाकिस्तानसँगकाे एकदिवसीय शृङ्खला जितेकाे हाे । यसअघि सन् २०१५ मा पाकिस्तानसँगकाे तीन खेलकाे एकदिवसीय शृङ्खलामा बंगलादेशले क्लिन स्वीप गरेकाे थियाे ।