११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


नदीजन्य पदार्थको चोरी निकासी बढ्यो


0
Shares

मनिष गुप्ता

कपिलवस्तु, असोज १० । धनकौलीसँग जोडिएको बाणगंगा नदीबाट बालुवाको अवैध चोरी निकासी बढेको छ ।

धनकौलीको चेत्रादेइ क्षेत्रबाट केही ट्याक्टरले दिउँसै बालुवा चोरी गरिरहेका छन् । नदी तथा स्थानीय सामुदायिक वनसँग जोडिएका बालुवा प्रशोधन उद्योग तथा सप्लायर्सले ट्याक्टरधनीसँग मिलेर बालुवाको अवैध चोरी तस्करी गरिरहेका हुन् ।

जेठ मसान्तमै निकासी ठेक्का म्याद नाघे पनि त्यस क्षेत्रमा भने अवैध उत्खनन् जारी छ । बुद्धभूमी–१० चेत्रादेइमा रहेको तिलौराकोट बालुवा प्रशोधन उद्योग तथा ऋषिकेश सप्लायर्सले चेत्रादेइ सामुदायिक वनको बाटो प्रयोग गरि बाणगंगा नदीबाट अवैध बालुवा झिकेको स्थानीयबासीहरु बताउँछन् ।

‘एक महिनादेखि क्रशर र सप्लायर्स मिलेर रातमा ४ वटा ट्याक्टर लगाएर चोर्थे, अहिले त दिउँसै चोर्न थाले,’ स्थानीय मदन यादवले भने ।

रातभरी क्रशरको प्रशोधन घानभित्र बालुवा थुपार्ने र दिउँसो प्रशोधन भन्दै विक्री गर्ने गरेको यादवले जानकारी दिए ।

गोरुसिंगेका बाबुराम भुसाल संचालक रहेको उक्त क्रशरले एक महिनादेखि बाणगंगा नदीबाट बालुवा चोरी गरे पनि प्रहरी प्रशासन तथा बुद्धभुमी नगरपालिकाले कुनै चासो नदिएको स्थानीयबासीको आरोप छ ।

‘दैनिक हजारौं रुपैयाको बालुवा चोरी भइरहेको छ, नगरपालिका र वडाको श्रोत चोरी हुँदा जनप्रतिनिधि कानमा तेल हालेर बसेका छन्,’ धनकौलीका विक्रम चौधरीले गुनासो गरे ।

ऋषिकेश केवटले संचालन गरेको ऋषिकेश बालुवा सप्लायर्सले नदीबाट चोरी गरि ल्याएको बालुवा संकलन तथा विक्री गर्ने गरेको स्थानीयबासीको आरोप छ । सोमबार बेलुकी ६ बजेसम्म केहि नभएको ठाउँमा मंगलबार विहान ८ बजे एक्कासी बालुवाको चाङ देखिएपछि स्थानीयबासीहरुले फेरि बालुवाको अवैध चोरी निकासी सुरु भएको भन्दै विरोध गरेका थिए ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय, वडा अध्यक्ष त्रिलोकी खरबिन्द र नगर प्रमुख केशव श्रेष्ठलाई जानकारी गराउँदा समेत कुनै कारवाही नभएको गुनासो गरे ।

बालुवा चोरी गर्ने र चोरी गरिएको बालुवा खरिद विक्री गर्नेलाई सार्वजनिक सम्पत्ती चोरी तथा सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउन चेत्रादेइबासीले माग गरेका छन् ।

स्थानीय सरकारको राजस्व तथा श्रोत चोरी निकासीप्रति नगरपालिका गम्भीर रहेको बुद्धभूमी नगरपालिका मेयर केशव श्रेष्ठ बताउँछन् । अवैध चोरी निकासीबारे छानबिन गरि कारवाही गरिने उनले बताए ।

नगरपालिका सीमासँग जोडिएका र सीमा भित्रका नदीजन्य पदार्थ ठेक्काको तयारी भइरहेकाले चोरी निकासी नगर्न उनले आग्रह गरे ।