काठमाडाैं । खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर राखेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा रहेको डिलर भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला पारेपछि कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो । प्रशासन कार्यालयसहित जिल्ला प्रहरी कार्यालय, आयल निगम, जनप्रतिनिधि र उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले पोखराका पाँच ग्यास डिलरको अनुगमन गरेको थियो ।
ग्यास अभाव भएको उपभोक्ताबाट गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा एउटा डिलरमा कैफियत भेटिएको र उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभएकाे छ । अनुगमन टोलीले भण्डारी ट्रेडर्समा भेटिएका ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डर पहिला आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको हाे ।
प्रशासनले ज्येष्ठ नागरिक, पूर्णरूपले अशक्त र अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई ग्यासमा प्राथमिकता दिन बिक्रेतालाई आग्रह समेत गरेको छ ।








प्रतिक्रिया दिनुहोस्