ध्रुवसागर शर्मा, म्याग्दी ।
ट्रयाक खुलेको १८ वर्षपछि हाँडेभीर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।
विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ‘ट्रयाक’ खुलेको थियो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रुपमा हाँडेभीर–बगरफाँट–भकिम्ली सडक योजना छनोट भएको हो ।
सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले माछापुच्छ्रे हिमालयन जेभीसँग रु १० करोड लागत अनुमान गरी प्रतिस्पर्धामार्फत २०८१ साल जेठमा ठेक्का सम्झौता गरी योजनालाई कार्यान्वयन गराइएको थियो ।
दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने सर्तमा सडक स्तरोन्नतिको काम जिम्मा लिएको निर्माण कम्पनि माछापुच्छ्रे हिमालयन जेभीले सडक फराकिलो बनाउने,नाली निर्माण गर्ने,सम्याउने,वेस तयार गर्ने,खोल्सा र खोलाहरुमा पक्की ढलान गरी पानीलाई निकास दिने लगाएतका सम्पूर्ण काम सकेर अव ग्रावेल गर्ने काम मात्र बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताउनुभयो ।
“सडकको ग्रावेलबाहेकको अरु सम्पूर्ण काम अन्तिम चरणमा छ । अबको एकसाता भित्रमा ग्राबेलका लागि बेस राख्ने काम सुरु हुन्छ” निर्माण कम्पनिका प्रतिनिधि भण्डारीले भन्नुभयो । बगरफाँटको कोटखोलादेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने काम सकिएको र अब ग्राभेलसहित स्तरोन्नति गर्न गर्ने उहाँको भनाइ छ । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक कालोपत्र भइसकेको छ ।
सडक स्तरोन्नतिको मापदण्ड अनुसार बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाइएको सडक स्तरोन्नति सहजीकरण समितिकासंयोजक चन्द्रबहादुर घिमिरेले बताउनुभयो । अब ग्राभेलसहित स्तरोन्नति गरिने उहाँका भनाइ छ ।
सोही सडक स्तरोन्नति योजना अन्तर्गतको दूधेखोलादेखि भकिम्ली जोड्ने सडक खण्डको विभिन्न ठाउँमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सूचना अधिकारी रबिन चोखालले जानकारी दिनुभयो ।
सडक स्तरोन्नति पछि बागलुङको ताराखोलादेखि म्याग्दीको मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजा,अर्मन,बेनी नगरपालिकाका मुसुङडोले,थामडाँडा,बास्कुना,अर्जेखोला लगाएत भकिम्ली,हल्लेगौडा,दुधेखोला र बगरफाँटका वासिन्दाहरुलाई सहज हुनेभएको छ ।
यहाँ उत्पादिन सुन्तला,फलफूल,तरकारी,दुध लगाएतका कृषि उपजहरुको बजारीकरण र आवतजावतमा सहज हुनेभएपछि स्थानीय खुसी भएका छन् ।








प्रतिक्रिया दिनुहोस्