Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


देशैभरी ग्यासकाे अभाव: आधा भरिएको ग्यास सिलिण्डर आजदेखि बजारमा पठाउन शुरू


429
Shares

काठमाडाैं । नेपाल आयल निगमले शुक्रबारदेखि देशभरीकाे ग्यास अभाव हटाउन आधा भरिएको सिलिण्डर बजारमा पठाउन शुरु गरेको छ ।

निगमले देशमा ग्यास आयात खपत अनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि आधा भरीका सिलिण्डर बजारमा पठाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरले शुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको आपूर्तिमा समस्या हुनसक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गरेको र अहिले झन सञ्चिति गर्ने क्रम बढ्दा अभाव चर्किंदै गएको बताउनुभयो । उहाँले शुरुमा एक–दुई वटा कम्पनीको मात्रै ग्यास अभाव भएपनि अहिले अरु ग्यासहरुपनि नपाइने स्थिति आएपछि त्यसलाई सहजीकरण गर्न आधा सिलिण्डर बजारमा पठाइएको बताउनुभयाे ।
निगमले देशमा ग्यास आयात भने खपत अनुसार नै भइरहेको जनाएकाे छ।

गत पुस महिनामा ४७ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । माघ महिनामा करिव ४६ हजार मेट्रिक टन ग्यास आयात गरिएको हाे । नेपालको मासिक खपत करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास रहेको निगमले जनाएकाे छ। यहि फागुन २६ गतेसम्म करिब साढे ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको निगमले जनाएकाे हाे । तर उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि समस्या समाधानका लागि निगमले बृहत छलफल गरेर आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेको प्रवक्ता ठाकुरको भनाइ छ ।

प्रवक्ता ठाकुरले ग्यासको अभावको असर विशेषगरी हुनेखाने भन्दा विद्यार्थी र मजदुर वर्गमा बढी देखिएको बताउनुभयाे। उनीहरूलाई एउटा ग्यास सिलिण्डर पाउन महिनौँ कुर्नुपर्ने अवस्था देखिएपछि उक्त समस्या समाधानका लागि ७।१ केजी ग्यास भरेर वितरण गर्ने निर्णय गरि कार्यान्वयनमा ल्याइएको छ ।प्रवक्ता ठाकुरले यसअघि पूर्ण सिलिण्डर ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेकोमा अब आधा सिलिण्डर अर्थात ७ दशमलव १ केजी ग्यासको मूल्य ९ सय ५५ रुपैयाँ तोकिएको बताउनुभयाे ।

युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नआएको निगमले जनाएकाे छ ।