Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


७ दिनभित्र निर्वाचनको समीक्षा प्रतिवेदन बुझाउन मातहतका समितिलाई नेकपाको निर्देशन


0
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी नेकपाले निर्वाचनको समीक्षाका लागि मातहतका समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

निर्वाचनमा अपेक्षा अनुसारको परिणाम नआउनुमा विभिन्न कारण रहेको बताउदै नेकपाले ‘निर्वाचन विशेष निर्देशन’ मार्फत प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत गठित निर्वाचन परिचालन समितिलाई यस्तो निर्देशन दिएको हो । भर्खरै एकता प्रक्रियाबाट अगाडि बढेको पार्टीको सङ्गठन समायोजन नसकिँदै निर्वाचनमा जानु परेको तथा नयाँ चुनाव चिह्न र नीति जनतामा स्थापित गर्न समय नपुगेको पार्टीको तर्क रहेको छ ।

यसका साथै गत भाद्र २३ र २४ गतेको घटनापछिको राजनीतिक अन्योल र मिडिया क्षेत्रमा फैलाइएका नकारात्मक प्रचारलाई चिर्न पर्याप्त समय नहुँदा परिस्थिति अनुकूल बन्न नसकेको कुरा निर्देशन पत्रमा स्वीकार गरिएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित निर्देशनमा निर्वाचन परिचालनका क्रममा भएका समग्र गतिविधिहरूको तथ्ययुक्त अध्ययन गरी एक हप्ताभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन आग्रह गरिएकाे हाे।