Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


प्रतिनिधिसभाका उम्मेदवारले चुनावी खर्च बुझाउने क्रम जारी

स्वतन्त्र उम्मेदवार महावीर पुनकाे निर्वाचन खर्च कूल २८ लाख ६८ हजार रूपैयाँमाथि

741
Shares

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउने बुझाउने क्रम जारी रहेकाे छ।

 निर्वाचन आयोगले पारदर्शीताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन उम्मेदवारका लागि आचारसंहिता बनाएको हाे । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।

त्यस्तै, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्छ । राजनीतिक दल र उम्मेदवारले निम्नमध्ये कुनै एक माध्यमबाट खर्च विवरण सार्वजनिक गरी सोको फोटो वा स्क्रिनसटसहितको प्रमाण आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्छ । तोकिएको समयभित्र खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित जानकारी नदिने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही हुने भएकाले उनीहरुले त्यस्तो विवरण धमाधम बुझाइरहेका छन्, भने आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका छन् ।

हालसम्म खर्च विवरण बुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहदेखि प्युठानबाट चुनाव उठेका नेकपा एमाले नेता सूर्य थापासम्म रहेका छन् । झापा-५ का उम्मेदवार (रास्वपा) का वरिष्ठ नेता शाहले निर्वाचन कार्यालयमा बुझाएको चुनावी खर्च विवरण अनुसार १४ लाख १७ हजार रुपैयाँ खर्च भएको छ । उहाँले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ । पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

त्यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेसनरीमा २२ हजार ८ सय २० रुपैयाँ खर्च भएको विवरण छ । त्यसैगरी झण्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८ सय ८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरण छ । बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणमा समग्रमा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख छ । 

यता प्रतिनिधि सभा सदस्यमा तनहुँ -१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च विवरण बुझाउनुभएकाे छ । निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उहाँले चुनावको लागि २६ लाख ९० हजार ७ सय ५४ रुपैयाँ खर्च गर्नुभएकाे हाे । उहाँको प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबै भन्दा बढी ६ लाख ५० हजार २ सय ९८ रुपैयाँ खर्च भएको देखिएको छ । त्यसैगरी विद्युतिय प्रचार प्रसार ३ लाख ४८ हजार ४ सय ६४ रुपैयाँ,खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९ सय रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, रास्वपाका सभापित रवि लामिछानेले चुनावी खर्च ९ लाख ८९ हजार रुपैयाँ मात्रै भएको विवरण निर्वाचन आयोगलाई बुझाउनुभएकाे छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका उहाँले आफ्नो मंगलबार निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण पेश गर्नुभएकाे थियाे । पेश गरिएको विवरणमा कूल ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, नमुना मतपत्र सामग्री छपाइका लागि ६८ हजार १ सय ६१ रुपैयाँ, तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि २ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

त्यसैगरी मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा खाजामा १४ हजार २ सय रुपैयाँ, प्रचार सामग्री (झण्डा, ब्याच, स्टिकर) खरिदमा १ लाख १२ हजार रुपैयाँ, तथा व्यानर निर्माणमा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ । खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ र हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ खर्च गरिएको हाे । निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-३ की रास्वपाकी उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गर्नुभएकाे छ । सार्वजनिक विवरणअनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गर्नुभउकाे हाे । जस अन्तर्गत, मनोनयन दर्ताका लागि ५ हजार, प्रचारप्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमूना मतपत्र-घोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचारप्रसार (१५ दिन) १ लाख, सवारी साधन २ वटा ३ लाख २५ हजार (चालक र इन्धन सहित), स्टेशनरी २३ हजार ४ सय ४५ र खाद्यान्न, रासन तथा पानी १ लाख १८ हजारको खर्च भएको उल्लेख गरिएकाे छ।

त्यस्तै, स्वतन्त्र सांसदमा विजयी भएका महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेश गर्नुभएकाे छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी-१ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कूल २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको हाे । पेश गरिएको विवरण अनुसार उहाँले होटलमा खाना बस्नका लागि खर्च सबै भन्दा बढी रकम १३ लाख सात हजार ६ सय १९ खर्च गरेको देखिएको छ । त्यस्तै, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९ सय ९८ रुपैयाँ, डिजेल ३ लाख ६० हजार ४ सय ९९ खर्च भएको छ ।

त्यस्तै, एमालेका नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३ सय ८९ रुपैयाँ खर्च गरेको विवरण बुझाउनुभएकाे छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठान- १ बाट उम्मेदवार बनेका थापाले सबै भन्दा बढी ६४ वडामा वडा तथा पालिका स्तरीय कार्यक्रमका लागि ६ लाख ४० हजार खर्च गर्नुभएकाे हाे ।

त्यस्तै, एमाले महासचिव एवं दाङ-२ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च निर्वाचन कार्यालयमा बुझाउनुभएकाे छ। उहाँले पेश गरेको खर्च विवरण अनुसार मतदाता नामावली खरिद बापत ५० हजार खर्च गर्नुभएकाे हाे। सवारी साधनमा ३ लाख ५० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) ३ लाख, प्रचारप्रसार सामग्री १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी-अन्तरक्रिया १ लाख ५० हजार, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम २ लाख, कार्यालय सञ्चालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख र विविध खर्च गरेर १ लाख ५० हजार उल्लेख गरिएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुभएकाे छ । उहाँले २३ लाख १० हजार रुपैयाँ खर्च गरेको विवरण छ ।  उहाँले बुझाएको विवरण अनुसार थापाले चुनावमा निर्वाचन कार्यालय व्यवस्थापनका लागि सबै भन्दा बढी ४ लाख ७५ हजार, डिजिटल सामग्री उत्पादन तथा विज्ञापनका लागि ४ लाख ५० हजार, घरदैलो कार्यक्रममा भोजन व्यवस्थापनका लागि ३ लाख ५० हजार, प्रचार प्रसार सामग्री छपाइ र वितरणका लागि ३ लाख १५ हजार रुपैयाँ खर्च गर्नुभएकाे थियाे ।

त्यस्तै, बुथमा ३ लाख १० हजार, प्रचार प्रसारका लागि गाडी भाडा र इन्धनबापत २ लाख ३५ हजार र कार्यकर्ता परिचालनमा १ लाख ५० हजार रुपैयाँ खर्च गरेको थापाले निर्वाचन कार्यालयमा बुझाएको विवरणमा उल्लेख गरिएकाे छ। थापाले यसपटक निर्वाचनमा  जमानत पनि जोगाउन सक्नुभएकाे छैन । गृह जिल्ला मकवानपुर छोडेर काठमाडौं–५ बाट चुनावी मैदानमा उत्रिएका थापाले जम्मा १ हजार ९ सय २२ मत प्राप्त गर्नुभएकाे थियाे । एक भोटका लागि थापाको एक हजार भन्दा बढि खर्च गरेको देखिन्छ ।

त्यस्तै, अन्य उम्मेदवारले पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने क्रम जारी रहेकाे छ । काठमाडौं–५ रास्वपाका सस्मित पोखरेल ३० हजार ७ सय ३७ मतसहित निर्वाचित हुँदा थापा चौथो हुनुभउकाे थियाे ।