काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताउनुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता रहेकाे बताउँदै त्यो पूरा हुन लागेको बताउनुभयाे। स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्ने उहाँकाे भनाइ छ । अहिले करिब दुई तिहाई बहुमत नजिकको सरकार बन्न लागेको बताउदै उहाँले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराउनुभयो । रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिवद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै साेही प्रतिवद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्नेमा उहाँकाे जाेड छ ।
अध्यक्ष ढकालले भूतप्रभावी कानून लागू नहुने सुनिश्चितता भएमा मुलुकमा छिट्टै आर्थिक गतिविधि बढाउन सकिने दावी गर्नुभयाे । आन्तरिक रोजगारी सिर्जना गर्न पनि मद्दत पुग्ने र आर्थिक गतिविधि बढेसँगै राजश्व संकलन पनि बढ्ने उहाँकाे भनाइ छ। आर्थिक गतिविधि विस्तार हुँदा छोटो समयमा नै आम नेपालीको चाहना पूरा गर्न सकिने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्