काठमाडौं । यहि फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएकाे छ।
पछिल्लो समय गोरखा-१ र इलाम-१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभएकाे हाे । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको समेत बताउनुभयाे । समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि शुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने आयाेगले बताएकाे हाे ।
यसैबीच बुधबार बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ मतसहित अग्रता कायम गरेको हाे । नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५ सय ८३, नेकपा एमालेले १४ लाख ४८ हजार ८ सय ५४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा )ले ८ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् ।
याेसँगै ६ वटा राजनीतिक दलहरुले समानुपातिकको थ्रेसहोल्ड कटाएका छन् । समानुपातिकमा मत पाउने अरु ५१ वटा दल रहे पनि उनीहरुले थ्रेसहोल्ड पार गर्ने सम्भावना छैन । साेही दलहरुले प्राप्त गरेको मत करिब ८ लाख रहेको छ ।







प्रतिक्रिया दिनुहोस्