Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


काठमाडाैं उपत्यकामा वायु प्रदूषणकाे उकालाे यात्रा कायमै

अनावश्यक रूपमा बाहिर ननिस्कन वातावरण विभागकाे अपील

351
Shares

काठमाडाैं । काठमाडाैं उपत्यकामा केही दिनयता वायु प्रदूषण निकै बढेको छ ।

मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालेको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म पानी नपर्दा, मौसम धुम्मिँदा प्रदूषण बढेकोले प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

बुधबार बिहान ७ बजे काठमाडाैंकाे एक्यूआई १ सय ७७ रहेको छ । मंगलबार एक्यूआई २ सय भन्दा माथि थियो । एक्यूआईको मापदण्ड अनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १ सयसम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । १ सय देखि १ सय ५० ‘अस्वस्थ’ मानिन्छ जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । १ सय ५१ देखि २ सय ‘सबैका लागि अस्वस्थ’, २ सय १ देखि ३ सय ‘बढी अस्वस्थ’ र ३ सय भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

हावा चलेमा, पानी परेमा मौसम सफा भएसँगै प्रदूषण कम हुन्छ । तर तत्काल धुम्म मौसम खुल्ने सम्भावना छैन । महानिर्देशक सुवेदीले वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयाे ।