Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


भत्कियो झापाको एमाले किल्ला (भिडियो रिपोर्ट)


429
Shares

सुरेन्द्र भण्डारी, झापा ।
साढे तीन दशकसम्म नेकपा एमालेको ‘लालकिल्ला’ भनेर चिनिएको झापामा यसपालि रास्वपालो क्लिनस्वीप गर्यो ।

झापाको राजनीतिबाट चार पटक देशको प्रधानमन्त्री भएका केपी शर्मा ओलीसहित एमाले नेताहरु यसपटक झापाबाट भारी मतान्तरले हारे । प्रत्यक्ष निर्वाचनमा दयालाग्दो मत ल्याएको एमालेले समानुपातिकमा पनि आफ्नो प्रभाव गुमाएको छ ।

२०४८ साल वैशाखमा भएको निर्वाचनमा तत्कालीन झापाका ६ वटा निर्वाचन क्षेत्रमा एमालेका सबै उम्मेदवार निर्वाचन हुँदै झापालाई ‘लालकिल्ला’ बनाएका थिए । सो निर्वाचनमा झापा क्षेत्र नम्बर ६ मा एमालेका केपी शर्मा ओलीले कांग्रेसका पूर्णानन्द शर्मालाई हराएर राष्ट्रिय राजनीतिमा उदाएका थिए ।

ओलीको सोही इनिङ्स नै देशको चार पटक प्रधानमन्त्री बन्ने आधार बन्यो । सोही निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेका द्रोणप्रसाद आचार्यले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । २ मा एमालेका देवीप्रसाद ओझा, क्षेत्र नम्बर ३ मा एमालेका राधाकृष्ण मैनाली, ४ मा एमाले कै नारायण राजवंशी र क्षेत्र नं ४ मा सिपी मैनालीले जित हासिल गरेका थिए ।

त्यसपछि २०५१ सालमा भएको निर्वाचनमा पनि नेकपा एमाले ५ र नेपाली कांग्रेसले एक सिट जितेका थिए । २०५६ सालमा भएको निर्वाचनमा विभाजनका बाबजूत एमालेले तीन सिट जितेको थियो भने कांग्रेसले पनि ३ सिटमा जित हासिल गरेको थियो । २०६४ मा भएको निर्वाचनमा एमाले १, नेपाली कांग्रेस १ र तत्कालीन माओवादीले ५ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो । त्यसबेला झापामा सात वटा निर्वाचन क्षेत्र बनाइएको थियो ।

२०७० सालमा भएको निर्वाचनमा नेकपा एमालेले ४ र नेपाली कांग्रेसले ३ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका थिए । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले ३, तत्कालीन नेकपा माओवादी केन्द्रले १ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा निर्वाचन क्षेत्रमा जित हाँसिल गरेका थिए । २०७९ को निर्वाचनमा नेकपा एमाले ३ , नेपाली कांग्रेस १ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेका थिए ।

झापामा आफ्नो प्रभाव जमाउँदै आएको एमाले २०८२ को मध्यावधि निर्वाचनमा भेन बीउ जोगाउन पनि असफल भयो । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई झापा–५ बाट करिब ५० हजार मतान्तरले पराजित गरे । ओली मात्र होइन झापाका पाँच निर्वाचन क्षेत्रमा नै एमाले उम्मेदवार रास्वपासँग फराकिलो मतान्तरले हारेका छन ।

प्रत्यक्षतर्फ सबै क्षेत्रमा पराजित एमाले समानुपातिक मतमा पनि कमजोर देखिएको छ । रास्वपाले झापाबाट ६० प्रतिशत हाराहारीमा समानुपातिक मत ल्याउँदा एमाले १५ प्रतिशत हाराहारीमा रोकिएको छ । उम्मेदवारी दिएका मध्य २०६४ को निर्वाचन बाहेक अन्यमा विजयी भएका ओली झापालाई एमालेको गढ भन्दै आएका थिए । यो निर्वाचनमा आफ्नो विरासत जोगाउन ओलीले लामो समय झापामा खर्चे ।

झण्डै डेढ महिना निर्वाचन क्षेत्रमा बसेर चुनाव प्रचारप्रसार गरेका ओलीले जित भने निकाल्न सकेनन् । जेन जी आन्दोलनपछि सरकारबाट विस्थापित भएका ओली पार्टीमा तेस्रो कार्यकाल अध्यक्ष भएर निर्वाचनमा होमिएका थिए । उनै ओलीलाई एमालेले पाँचौ पटक देशको प्रधानमन्त्रीका रुपमा अगाडी सारेर निर्वाचनमा जाँदा भने झापासँगै देशैभरीबाट सर्मनाक हार ब्यहोरेको छ ।