काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आफ्नो मतमार्फत् नागरिकले पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेको बताउनु भएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र नभइ जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले गत भदौ २३ र २४ को घटनापछि पार्टीले लिएका नीति ठिक नभएको र त्यसमा करेक्सन गर्न नेतृत्व र सिङ्गो पार्टी पंक्ति तयार नहुँदा परिस्थिति बिग्रिएको जिकिर गर्नुभएको छ । हरेक सार्वजनिक संस्था-संगठनमा जिम्मेवारी र जबाफदेहीता अहम् महत्वको सवाल हुने उहाँको भनाइ छ ।
उहाँले नेता तथा सिंगो पार्टी पंक्तिलाई हिजोका गुटका घेराबाट बाहिर निस्केर खुलस्त बहसमा सहभागी हुन आह्वान समेत गर्नुभएको छ । सथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्यहरूलाई आफ्ना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्नुभएको छ ।
उहाँले पार्टी पंक्तिलाई सम्बोधन गर्दै हामी ढलेका मात्र हौँ, मरेका होइनौँ भन्नुभएको छ । सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत् एमाले पंक्ति उठ्ने, पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने उहाँको दृढता रहेको छ ।







प्रतिक्रिया दिनुहोस्